हेटौँडा ः मकवानपुर जिल्ला क्रिकेट संघले महिलालाई क्रिकेट खेलमा प्रोत्साहित गर्न क्रिकेट उत्सवको आयोजना गर्ने भएको छ । भोलि मंगलबार र पर्सी बुधबार दुई दिन उत्सवको आयोजना गरेको हो । हेटौँडा उपमहानगरपालिकासँगको सहकार्यमा संघले आयोजना गर्ने उत्सवमा हेटौँडा उपमहानगरका ७ र मकवानपुरगढी गाउँपालिकाको १ गरी ८ वटा विद्यालयको टिम सहभागी हुनेछ ।
सामुदायिक संस्थागत दुबै विद्यालयको सहभागितामा क्रिकेट उत्सवको आयोजना गरिएको मकवानपुर जिल्ला क्रिकेट संघका सचिव विनोद कुमार बानियाँले जानकारी दिनुभएको छ । उत्सवमा सहभागी विद्यालयको टिमबीच हेटौँडा–४ स्थित हुप्रचौरमा ६ ओभरको खेल हुनेछ । महिला क्रिकेट उत्सवको हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले उद्घाटन गर्नुहुनेछ ।
अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को महिलालाई क्रिकेट खेलमा प्रोत्साहन गर्ने योजनाअन्तर्गत नै मकवानपुर जिल्ला क्रिकेट संघले उत्सवको आयोजना गर्न लागेको हो । महिला क्रिकेट उत्सवको कार्यक्रम संयोजक प्रेम क्षेत्री रहनुभएको छ ।