हेटौँडा ः सोमबार साँझ ७ बजेको समयमा हेटौँडा–१, तिरतिरेधारामा भारतीय नम्बर प्लेटको कारले ठक्कर दिँदा स्कुटरमा सवार हेटौँडा–१ का ३५ वर्षीय युवराज लामाको मृत्यु भएको छ ।

हेटौँडा–भैसे सडकखण्डअन्तर्गत हेटौँडा–१, तिरतिरे धारा नजिकै भैँसेबाट हेटौँडातर्फ आउँदै गरेको बा प्र ०३–००२ प ७२६७ नम्बरको स्कुटरलाई हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको बीआर ०५ बीए ०००६ नम्बरको भारतीय नम्बरप्लेटको कारले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा घाइते भएका युवराजलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो । गम्भीर घाइते युवराजको सोमबार साँझ ७ बजेर २५ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्कुटर पछाडि सवार २५ वर्षीया बबिता लामा घाइते भएको प्रहरीले जानकारी दिएको छ । स्कुटरलाई ठक्कर दिने कार र कार चालक भारतको बिहार राज्यको मोतिहारी जिल्ला पूर्वी चम्पारणका २४ वर्षीय सुकर्ण प्रताप सिङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।