हेटौंडाः हेटौंडा–८, कमानेमा दोस्रो कमाने महोत्सव हुने भएको छ । यही पुस ११ गतेदेखि १३ गते ३ दिनसम्म कमाने महोत्सव हुने भएको हो । बुधबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सवका आर्थिक संयोजक प्रवेश पोखरेलले “स्थानीय पर्यटन, स्थानीय सँंस्कृतिक प्रवद्र्धन, स्थानीय व्यापार प्रदर्शनलाई मूल नारा बनाएर वडा भित्र रहेका स्थानीय कला संस्कृति पहिचान र व्यापार, व्यवसाय प्रदर्शनीका लागि महोत्सवको आयोजना गर्न लागेको जानकारी दिनुभएको छ ।
कमानेका १९ वटा टोल विकास संस्थाका पदाधिकारी एवम सदस्यहरुले वडाबाट लिएको तालिम तथा सीपलाई सदुपयोग गर्दै सानो उद्योग तथा महिला उद्यमीहरुको उत्पादनलाई बजारीकरण गर्न लागिएको संयोजक पोखरेलले बताउनुभयो । वडा भित्र रहेका विभिन्न सीप तथा व्यवसायहरुको पहिचान गराउने, महिला आमा समुहहरुले उत्पादन गरेका आफ्ना उत्पादन प्रदर्शन गराउने, विभिन्न समयमा हेटौँडा उपमहानगरपालिका बाट प्राप्त कृषि खेति तालिमहरुबाट सिकेको सीपलाई आफ्नो आय आर्जनमा परिवर्तन गर्न महोत्सवको आयोजना गरिएको हो ।
स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले गत वर्ष जस्तै यस वर्ष पनि महोत्सवको आयोजना गर्न लागेको उहाँले बताउनुभयो । महोत्सवमा स्थानीयले बनाएका विभिन्न किसिमका खानाका परिकारहरु, खानाका स्टलहरुलाई समावेश गरिनेछ । महोत्सवका लागि ८ नम्बर वडा कार्यालयले ५ लाख रुपैयाँ बजेट छुट्याएको छ भने अन्य रकम स्टलहरुबाट प्राप्त हुनेछ । महोत्सव आयोजनाका लागि ८ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । पत्रकार सम्मेलनमा ८ नम्बर वडाध्यक्ष रामकृष्ण थापा, सचिवालय संयोजक उमेश थापा मगर लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।