नेकपा एमाले हेटौँडा उपमहानगर कमिटीको अध्यक्षमा निर्वाचित बोलबहादुर कार्की ।

हेटौँडाः नेकपा एमाले हेटौँडा उपमहानगरपलिका कमिटीको अध्यक्षमा बोल बहादुर कार्की निर्वाचित हुनुभएको छ । सोमबार सम्पन्न निर्वाचनबाट अर्का आकांक्षी जनरल श्रेष्ठ ‘जेन’ लाई ४३ मतान्तरले पराजित गर्दै कार्की उपमहानगर अध्यक्ष निर्वाचित हुनुभएको हो ।

कुल खसेको ३२७ मत मध्ये १७६ मत प्राप्त गर्दै कार्की विजयी हुँदा श्रेष्ठले १३३ मत प्राप्त गर्नुभयो । ३३४ प्रतिनिधि मध्ये ३२७ जनाले मतदान गरेका थिगए । निर्वाचनमा उपाध्यक्ष पदमा ३ जनाको प्रतिस्पर्धा रहेको थियो । उपाध्यक्ष पदमा राजकुमार बास्तोला विजयी हुँदा इन्द्रप्रसाद खतिवडा र धनबहादुर मुक्तान पछि पर्नुभयो । बास्तोलाले १४३ मत पाउँदा खतिवडाले ६८ र मोक्तानले ७४ मत पाउनुभयो ।

यस्तै सचिव पदमा १९७ मतसहित शान्ता गौतम (प्रदीप) विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी प्रकाश बानियाँले ८७ मत प्राप्त गर्नुभयो । उप– सचिव पदमा शान्ता कुमार तामाङ ७४ मतसहित विजयी हुनुभएको छ । उहाँले अर्जुनप्रसाद अर्याल (३१ मत), कवि रेग्मी (४१ मत), भिम तिमल्सिना (३४ मत), शिवबहादुर थापा (३९ मत) र सुरेश मिजार (६७ मत) पराजित हुनुभयो ।

महिला उप–सचिव पदमा चन्द्रावती पनेरु अधिकारी विजयी हुनुभएको छ । उहाँले १४६ मतसहित जित निकाल्दा जुना दंगाल (६९ मत) र रन्जिता सिलवाल (७९ मत) पराजित हुनुभयो । ८१ पदका लागि भएको निर्वाचनमा अन्य पद भने सर्वसम्मत निर्वाचित भएको छ ।