पटक–पटक स्थगित भएको नोल पत्रकार महासंघको निर्वाचन अन्ततः शुक्रबार सम्पन्न भएको छ । महासंघको केन्द्रमा निर्मला शर्मा, बागमती प्रदेश अध्यक्षमा कृष्ण सारु मगर, मकवानपुर जिल्ला अध्यक्षमा बालकृष्ण अधिकारी नेतृत्वमा नेपाल पत्रकार महासंघले नयाँ समिति प्राप्त गरेको छ । नेपाल पत्रकार महासंघ नेपाली पत्रकारको मात्रै नभएर पत्रकारिताको मर्यादा गर्नेहरुका लागि पनि महत्वपूर्ण संरचना हो । नागरिकको आवाज सुन्ने सुनाउने सञ्चारकर्मीको साझा संस्था नेपाल पत्रकार महासंंघमा नयाँ नेतृत्वसँगै लामो समयदेखिको अनिश्चितताको अन्त्य भएको छ ।
नेपाल पत्रकार महासंघमा नयाँ नेतृत्व स्थापित हुनु भनेको महासंघले नयाँ अवसर प्राप्त गर्नु हो । मकवानपुर जिल्लाको सन्दर्भमा महासंघको नयाँ नेतृत्व युवा पुस्तामा हस्तान्तरण भइसकेको छ । शुक्रबार भएको निर्वाचनबाट चुनिएका नयाँ नेतृत्वलाई शनिबार बिहान महासंघकै सभाकक्षमा सपथ गराएर जिम्मेवारी हस्तान्तरण गरिएको छ । महासंघ मकवानपुरमा अधिकांश नयाँ अनुहार भएकोले पहिलो पटकदेखि पटक–पटक जिम्मेवारीमा पुगेकाहरुलाई महासंघको सञ्चालन तथा व्यवस्थापनमा आआफ्नो जिम्मेवारी, भूमिकाका बारेमा अभिमुखीकरण गराउनु जरुरी छ ।
नेपाल पत्रकार महासंघ पत्रकारको मात्रै संस्था नभएर समाजकै महत्वपूर्ण अवयव हो । तसर्थ संघीय, प्रदेश र जिल्लास्तरीय समितिले राज्यका निकायहरुसँग मिलेर काम गर्न गराउन गर्न सकिन्छ भनेर आवश्यक योजना तया कार्यक्रम जोड्न पनि जरुरी छ । तहअनुसार महासंघले आफ्नो भूमिका स्थापित गर्दै जान सक्नुपर्छ । मकवानपुरमा बालकृष्ण अधिकारी नेतृत्वको समितिले योजनावद्ध ढंगबाट श्रमजीवी पत्रकारको हकहितमा काम गर्ने विश्वास सदस्यलाई दिलाउन सक्नुपर्छ । महासंघलाई आजको समयअनुकुलको साझा संस्था बनाउन सक्नुपर्छ ।
निर्वाचनको प्रक्रियाबाट नयाँ समिति चयन गर्दै गर्दा एउटा समूह विजयी भएर पदस्थापित हुँदै गर्दा आकांक्षीको एउटा समूह बाहिर रहन बाध्य भएको छ । महासंघको विभिन्न पदमा रहेर काम गर्ने आकांक्षा राखेकाहरुबाट पनि आवश्यक सल्लाह, सुझाव लिएर महासंघको नवनिर्वाचित समितिले काम गर्न सक्नुपर्छ । त्यसका लागि पदस्थापित समूहले नै सहजीकरण गर्न सक्नुपर्छ । महासंघको नवनिर्वाचित नेतृत्वले महासंघको भूमिकालाई जिम्मेवार र सदस्यहरुको क्षमता विकास, सञ्चारगृहको व्यावसायिक चरित्र विकासमा ध्यान दिनु जरुरी छ । सञ्चारगृह र सञ्चारकर्मीलाई जिम्मेवार बनाएर पाठक, दर्शक, स्रोतालाई आवश्यक समाचार, विचार र समसामयिक सामग्री प्रस्तुत गर्ने अवस्था विकास गर्न महासंघ सहजकर्ताको भूमिका रहन सक्छ । त्यसका लागि तीनै तहका नेतृत्वको समूहलाई शुभकामनासहित निर्वाचित भएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।