जलवायु परिवर्तन सम्बन्धी पोस्टर प्रदर्शन गरिँदै ।

हेटौंडाः मकवानपुर महिला समुहको आयोजनामा सोमबार हेटौंडामा जलवायु परिवर्तन सम्बन्धी पोस्टर प्रदर्शनी गरिएको छ । जलवायु न्यायका लागि अहिले नै कदम चालौं भन्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको हो ।

समुहका संयोजक निशा लामाको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा मन्तव्य राख्नुहुँदै नगरप्रमुख लामाले वातावरण सफा राख्न सबैको दायित्व रहेको बताउनुभयो । अनि मात्र जलवायुको न्याय हुने उहाँको धारणा छ । सोही अवसरमा हेटौंडा–४ स्थित हेटौंडा क्याम्पसमा आयोजित चित्रकला प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीलाई पुरस्कृत गरिएको छ ।

प्रथम, द्वितीय, तृतीय र सान्तवना हुनेलाई क्रमशः ४ हजार रुपैयाँ, ३ हजार रुपैयाँ, २ हजार रुपैयाँ र एक हजार रुपैयाँसहित प्रमाणपत्रले पुरस्कृत गरिएको छ । हेटौंडा–५ स्थित जिएस निकेतनकी छात्रा आरोही राई प्रथम, हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयकी इशु थारु द्वितीय हुन सफल भएकी छिन् । प्रतियोगितामा १२ वटा विद्यालयका २४ जना विद्यार्थी सहभागी थिए । यस्तै हेटौंडा–४ कै नवोदय शिशु सदनकी एन्जल थापा तृतीय र हेटौंडा–२ स्थित बालजागृति इङ्लिस सेकेन्डरी बोर्डिङ स्कुलका सुमित साह सान्त्वना हुन सफल भएका छन् । कार्यक्रममा खुला हाजिरीजवाफ प्रतियोगिता समेत आयोजना गरिएको थियो ।