हेटौंडाः हेटौंडामा तेस्रो संस्करणको अन्तरविद्यालय गायन प्रतियोगिता हुने भएको छ । हेटौंडा–५ स्थित ज्ञानोदय बालबाटिका आवासीय माध्यमिक विद्यालयको आयोजनामा गायन प्रतियोगिता हुने भएको हो । बालबालिकामा रहेको प्रतिभालाई प्रस्तुत गराउने उद्देश्यले विद्यालयले आगामी फागुन महिनाको १५ गते प्रतियोगिताको आयोजना गर्न लागेको जनाएको छ ।
गायक तथा संगीतकार भीम विरागको स्मृतिमा विगत २ वर्षदेखि गायन प्रतियोगिताको आयोजना गर्दै आएको छ । जस अन्तर्गत सामुदायिक तथा संस्थागत विद्यालहरुबाट एक÷एक जना छात्र र छात्रालाई छनोट गरेर प्रतियोगिताका लागि तयार गर्नका लागि अनुरोध गरिएको छ । प्रतियोगितामा सामुदायिक तथा संस्थागत विद्यालयबाट कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीहरु सहभागी हुन पाउने बताइएको छ । प्रतियोगितामा सहभागी भएका विद्यार्थीले नेपालीपन झल्काउने तरिकाले स्वदेशी गीत गाउनुपर्ने छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई क्रमशः १० हजार रुपैयाँ, ७ हजार रुपैयाँ र ५ हजार रुपैयाँको नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ भने १ जनालाई प्रोत्साहन स्वरुप २ हजार ५ सय रुपैयाँको नगद राशि र प्रमाणपत्र प्रदान गरिने छ ।