हेटौंडाः चितवन जिल्लाको रत्ननगर नगरपालिकामा हुने तेस्रो संस्करणको सेन्ट्रल कलेज महिला फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ । क्लबले मंगलबार सामाजिक सञ्जालमार्फत प्रतियोगिताको खेलतालिका सार्वजनिक गरेको हो । मंसीर २२ गतेदेखि हुने प्रतियोगिताको उद्घाटन खेलमा मकवानपुरको हेटौँडा फुटबल एकेडेमीको महिला टिमले आयोजक रत्नप्रिय क्लबको महिला टिमको सामना गर्नेछ ।
रत्ननगर नगरपालिकाको टिकौलीचौरमा हुने प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको छ । महिला खेलाडीको विकास गर्न तथा महिला खेलाडीलाई प्रवद्र्धन गर्न क्लबले विगत ३ वर्षदेखि रत्ननगरमा प्रतियोगिताको आयोजना गर्दै बताइएको छ । प्रतियोगितामा सहभागिता जनाउन लागेको हेटौँडा फुटबल एकेडेमीले हेटौंडा–४, हुप्रचौरमा बिहानको समयमा फुटबलमा रुचि राख्ने खेलाडीहरुलाई प्रशिक्षण दिँदै आइरहेको छ । महिला खेलाडी उत्पादन गर्ने उद्देश्यले एकेडेमीमा नियमित प्रशिक्षण भइरहेको उहाँको भनाइ छ ।
‘पर्यटन, कृषि तथा खेलकुद हुन् पूर्वाधार, रत्ननगर पालिकाको विकासको आधार’ भन्ने नारालाई सार्थक बनाउने उद्देश्यसहित आयोजना गरेको प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन हुनेछ । प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख ११ हजार १ सय ११ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा विधागत उत्कृष्ट खेलाडीले जनही ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल मंसीर २९ हुनेछ ।