हेटौँडाः आगामी पुसमा हुने मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनमा प्रमोद सिंह रानाभाटले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । बुधबार बिहान रानाभाटले निर्वाचन लक्षित सचिवालयको उद्घाटन गर्नुहुँदै पत्रकार सम्मेलनमार्फत आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो ।
रानाभाटले हेटौंडा–२, पल्पसारोडमा सम्पर्क सचिवालय स्थापना गरी चुनावी अभियान सुरु गरेको समेत बताउनुभयो । रानाभाटका पिता डम्बर बहादुर रानाभाटले रिवन काटेर औपचारिक रुपमा सम्पर्क सचिवालयको शुभारम्भ गर्नुभयो । उद्योगी तथा व्यवसायीको हकहितमा काम गर्ने योजनासहित आफू चुनावी मैदानमा होमिएको उहाँको भनाइ छ ।
विगतदेखि नै संघको विभिन्न पदमा रहेर काम गरेको र हाल महासचिव पदको जिम्मेवारी समेत सफलतापूर्वक सम्पन्न गरेकाले आफू अध्यक्ष पदको योग्य उम्मेदवार भएको उहाँको दावी छ । हेटौंडासहित जिल्लामा व्यावसायिक वातावरण बनाउन विभिन्नरुपमा काम गरेको बताउनुहुँदै रानाभाटले उद्योग वाणिज्य क्षेत्रका समस्या, व्यवसायीहरुको मर्का समाधान गर्न आफूले उम्मेदवारी दिने तयारी गरेको स्पष्ट पार्नुभयो ।
पुस्तौंदेखि हेटौँडामा रहेर व्यवसाय गर्दै आएकाले व्यवसायीहरुको संरक्षण, हेटौंडालाई व्यापारिक केन्द्रको रुपमा विकास गर्न तथा राज्यका संरचनाहरुसँगको समन्वयमा बजार व्यवस्थापनमा काम गर्ने योजना रहेको उहाँले बताउनुभएको छ । पुस २५ गतेदेखि २८ गतेसम्म हुने ५८ औं साधारणसभाबाट नयाँ कार्यसमिति चयन गर्नेछ ।