सम्मान गर्नुहुँदै मुख्यमन्त्री बहादुर सिंह लामा ।

हेटौंडाः बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामाले लोकतन्त्रसँगै समाज रुपान्तरण हुँदै गएको बताउनुभएको छ । ख्रिष्टमस उत्सव २०८१ तथा नववर्ष सन् २०२५ को अवसरमा मंगलबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै लामाले गुम्बा, चर्च, मठमन्दिरको विस्तार गर्नु राज्यको दायित्व भएको बताउनुभयो । गुम्बा, मठमन्दिर मात्र नभई सरकारले चर्च पनि निर्माण गरिरहेको बताउनुभयो ।

छुवाछुत विभेदको अन्त्य हुँदै गएको जानकारी दिनुहुँदै राज्यले निर्माण गरेको धार्मिक संरचनाको संरक्षण सम्वद्र्धन गर्न उहाँले आग्रह गर्नुभयो । पञ्चायती व्यवस्थामा अन्य धर्म मानेकै कारण जेल बिताउनुपर्ने अवस्था थियो भने अहिले त्यस्तो अवस्था नभएको उहाँको भनाइ थियो । मुख्यमन्त्री लामाले धर्मको नाममा भ्रम फैलाउनु गलत भएको जानकारी दिनुभयो । मानिसमा करुणाको भाव हुन जरुरी रहेको औंल्याउनुहुँदै करुणा भावले मानिसममा हिंसा र राक्षसी व्यवहारलाई निरुत्साहित गर्ने उहाँको भनाई छ । राष्ट्रिय ख्रिष्टियन महासंघ नेपाल जिल्ला समिति मकवानपुरले आयोजनामा गरेको कार्यक्रममा राष्ट्रिय ख्रिष्टियन महासंघ नेपाल जिल्ला समिति मकवानपुरका अध्यक्ष नवराज पाख्रिनको अध्यक्षतामा कार्यक्रम भएको हो ।

पञ्चायती व्यवस्थाको बेला ख्रिष्टियन धर्म मानेकै कारण जेल जीवन बिताएकालाई सम्मान समेत गरिएको छ । हरिबहादुर पाख्रिन, तीर्थलाल थिङ, सुकुमाया पाख्रिन, मिलन थिङ, छलिमाया सिन्तान, आशाकुमारी पाख्रिन दोङ, जगत दोङ, जंगबहादुर ब्लोन, सूर्यबहादुर प्रजा, मंगले पाख्रिनलाई प्रशंसापत्र प्रदान गरिएको थियो । यस्तै मिलन दोङ, प्रेमलाल थिङ, विष्णुराम प्रजा, बुद्धिमान दोङ, पंचबहादुर सिंतान, ब्रम्हा बहादुर ब्लोन, सन्चबहादुर सिन्तान, कुमार सिं स्याङ्तान, गजबहादुर स्याङ्तान, धनबहादुर थिङ, रणबहादुर थिङलाई पनि सम्मान गरिएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामा, नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका सभापति भरत पराजुली लागयतको उपस्थिति रहेको थियो ।