नेपालमा सामान्यतः राजनीतिक दलका नेता र मन्त्रीको काम नै भाषण गर्ने जस्तो छ । यहाँ मन्त्री भनिरहँदा संघीय सरकार र प्रदेश सरकारमा रहेका राज्यमन्त्रिदेखि मुख्यमन्त्री र प्रधानमन्त्रीसम्मलाई बुझ्नुपर्छ । नेता भनेपछि टोलदेखि पार्टीको राष्ट्रिय समिति, कमिटीका अध्यक्ष भन्ने बुझ्नुपर्छ । पछिल्लो समय कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनको सन्दर्भमा नेपाली काँग्रेसका महामन्त्री गगन थापाको भाषण निक्कै चर्चामा रह्यो । अधिकांशतः गगन थापाको भाषणको नकारात्मक टिप्पणी रहेको देखिन्थ्यो । गगन थापाका समर्थक, गगन थापासम्वद्ध पार्टीका नेता, कार्यकर्ता भने आलोचनाको खण्डन गर्ने र गगन थापाको बचाउ गर्ने प्रयास जारी छ । यस्तै शुक्रबार बागमती प्रदेश सरकारको खानेपानी, उर्जा तथा सिंचाई मन्त्री श्याम खड्काले पनि भाषणमा तीन तहका सरकारबीच समन्वय नभएको टिप्पणी गर्नुभयो ।
बेरोजगारीको अवस्था चरम बनेर न्यून आए भएका, गाउँका युवा विदेश पलायन भएर गाउँ, समुदायमा युवा नै देख्न मुस्किल परिरहेको अवस्थामा कीर्तिपुरको चुनावी सभालाई सम्बोधन गर्नुहुँदै गगन थापाले मुलुकमै युवाका लागि सम्भावना र अवसर छ भन्ने आशयको अभिव्यक्तिको खरो आलोचना भइरहेको छ । गगन थापाले राजनीतिमा आफ्नो लामो समय बिताइसक्नु भएको छ । गगन थापाप्रति एउटा वर्ग, समूहले ठूलो आशा राख्दा राख्दै पनि पछिल्लो अभिव्यक्तिको तीव्र आलोचनालाई लिएर सबै दलका नेता, कार्यकर्ताले गम्भीर भएर समीक्षा गर्नु जरुरी छ । यद्यपि नेपाली काँग्रेसका नेता, कार्यकर्ता थापामाथिको कटाक्षलाई गलत भनिरहेका छन् ।
गगन थापा र श्याम खड्का प्रतिनिधि पात्र मात्रै हुन् । थापा र खड्का जस्तै नेता, मन्त्रीले गरेका कामको भन्दा गर्नुपर्ने कामको विषयमा, यो वा त्यो सन्दर्भमा यसो र त्यसो गर्नुपर्छ भन्दै सभा, सम्मेलनमा गर्जनु परम्परा नै बनेको छ । बोलेका कुरा कार्यान्वयन गर्न के कस्ता काम, कसरी गरियो भन्ने विषयमा भने उनीहरु व्याख्या गर्न सक्दैनन् । अझ यी नेताका समर्थक, कार्यकर्ता भने सार्वजनिकरुपमा भएका टिप्पणीलाई गलत सावित गर्न, आफ्ना नेता ठीक छन् भन्ने ठोकुवा गर्न प्रेरित हुनु अर्को आश्चर्यको विषय हो । थापा र खड्काहरु कुनै न कुनै हिसाबले जिम्मेवारीमा छन्, केही गर्ने अवसर उनीहरुको वरपर छ । ती अवसरलाई आत्मसात गरेर, उपलब्ध स्रोत, साधनको प्रयोग गरेर सकारात्मक काम गरेर त्यसकै आधारमा आफू वरपर र क्रमशः राम्रो कामको दायरालाई फराकिलो बनाउँदै लैजान जरुरी छ ।
अब पनि यसो हुनुपर्छ र त्यसो हुनुपर्छ भनेर भाषण गरेर राजनीति गर्ने दिन गए । हिजोको जस्तो सीमित व्यक्तिको पहुँचमा मात्रै शिक्षाको अवसर छ, उनीहरुले मात्रै क्षमता राख्छन् भनेर बुझ्नु गलत हुनेछ । आजको सूचना, प्रविधिको युग, विश्वव्यापी पहुँच र सञ्जाल बनाउन सक्ने समयमा कोही कसैले अर्कालाई अर्तीको शैलीमा भाषण सुनाउनु जायज हुन्न । सकिन्छ अभ्यासमा प्रस्तुत गरेर यथार्थ बताउन सक्नुपर्छ । जसले नकारात्मक टिप्पणी नभई थप प्रशंसा र प्रचारको अवसर प्रदान गर्नेछ । अन्यथा अनेकौं तर्क, वितर्क गरेर यसो गर्नुपर्छ, उसो गर्नुपर्छ । वस्तुस्थिति एकातिर छ सम्भावनाको कल्पना र कथा प्रस्तुत गरेर हुन्न । गगन थापाले कीर्तिपुरमा जिते यसो गर्नेछौं, उसो गर्नेछौं भन्नुभन्दा २०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा काँग्रेसका उम्मेदवारले जितेको ठाउँमा भए, गरेका राम्रा कामको चर्चा गर्नुपर्छ । श्याम खड्काले तीन तहको सरकारबीच समन्वय नभएको भए समन्वयको प्रयास गर्नुपर्छ । आफ्नो विभागीय मन्त्रालयमातहतका काम उल्लेखनीय ढंगले सम्पन्न गर्ने र तीनै तहको समन्वय हुने गरी संघीय सरकार र स्थानीय सरकारलाई एकसाथ राखेर प्रदेशले पर्याप्त समन्वय र त्यसको उल्लेखनीय लाभको कथा व्याख्या गर्नुपर्छ । कर्णप्रिय भाषण नभई देख्दा, हेर्दा बुझिने, राम्रो र प्रभावकारी विकासका कामलाई स्थापित गरेर त्यसको अवलोकनका लागि आव्हान गर्ने नेतृत्वको जरुरी छ ।