हेटौंडाः वियोण्ड बेइजिङ कमिटी काठमाडौंको आयोजनामा राक्सिराङ गाउँपालिकाका किशोरकिशोरीलाई लैंगिक हिंसाविरुद्ध अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । विद्यालय जान छोडेका किशोरकिशोरीलाई लक्षित गर्दै बिहीबार अभिमुखीकरण कार्यक्रम गरिएको माइती नेपाल मकवानपुरकी संयोजक माया लामाले जानकारी दिनुभयो ।
लैंगिक हिंसा, हिंसा प्रकार, हिंसाको प्रतिकार कसरी गर्ने भन्ने विषयमा किशोरकिशोरीलाई अभिमुखीकरण गरिएको संयोजक लामाले बताउनुभयो । हरेक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म मनाइने लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत राक्सिराङमा अभिमुखीकरण कार्यक्रम भएको हो । ‘हामी सबैको प्रतिवद्धताः लैंगिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता’ भन्ने नाराका साथ लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गरिँदै छ । युवा सेवा समाजकी उपाध्यक्ष कुमारी वाईबाको अध्यक्षता तथा राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
उपाध्यक्ष वाईबाले राक्सिराङका किशोरकिशोरीलाई लैंगिक हिंसा के हो भन्ने विषय समेत जानकारी नभएको बताउनुभयो । जबसम्म गाउँमा उक्त विषयमा शिक्षा दिइँदैन तबसम्म हिंसा अन्त्य नहुने उहाँको धारणा थियो । गाउँपालिकाका अध्यक्ष मल्लले आगामी दिनमा लैंगिक हिंसाविरुद्धको अभियानलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन पालिका प्रतिबद्ध रहेको बताउनुभयो । राक्सिराङ गाउँपालिकाको सामाजिक विकास शाखाका प्रमुख गोविन्द अधिकारीले लैंगिक हिंसासम्बन्धमा सहजीकरण गर्नुभएको थियो । ‘राईट हेयर, राईट नाउ’ को आर्थिक सहयोग, युवा सेवा समाजको संयोजन, राक्सिराङ गाउँपालिकाको समन्वयमा अभिमुखीकरण कार्यक्रम भएको हो ।