उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री बहादुर सिंह लामा ।

हेटौँडाः बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले अव्यवस्थित विकासले विपद्का घटनालाई बढावा दिएको बताउनुभएको छ । उहाँले योजना बिनाका कार्यक्रमहरु निर्माण गर्दा सरकारको लगानी व्यर्थ बनिरहेको बताउनुभयो ।

प्रदेशको खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्रालयको आयोजनामा हेटौँडामा आयोजित २ दिने खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्नुहुँदै मुख्मयन्त्री लामाले आयोजनाको विस्तृत अध्ययन पश्चात मात्र बजेट व्यवस्था गरेर कार्यान्वयनमा अघि बढ्नुपर्ने बताउनुभयो । विकासको मोडल परिवर्तन गरेर एकीकृत विकासको आयोजनाहरु संचलन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । “मास्टर प्लान बिना नै आयोजनाहरुमा काम भएका छन् । योजना बिना नै कार्यान्वयनमा अघि बढ्दा सरकारको लगानी व्यर्थ बनिरहेको छ”, उहाँले भन्नुभयो, “अव्यवस्थित रुपमा भएका विकासका कामले विपद्लाई बढावा दिएका छन् । अब एकीकृत विकासको मोडलमा लगानी गरेर उपलब्धीमुलक ढंगबाट काम गर्नुपर्छ ।”

समग्र क्षेत्रलाई समेटेर प्रभावकारी आयोजना निर्माण गरी कार्यान्वयनमा अघि बढ्न जरुरी रहेको मुख्यमन्त्री लामाले औँल्याउनुभयो । मुख्यमन्त्री लामाले आर्थिक, सामाजिक, शिक्षा तथा स्वास्थ्य र उत्पादन केन्द्रित आयोजनाहरु तयार गरेर विकासका काम अघि बढाउनुपर्ने बताउनुभयो । प्रदेश सरकारले नागरिकहरुको सेवा प्रवाहसँगै आधारभुत आवश्यकताको क्षेत्रमा प्राथमिकताका साथ काम गरेको उहाँले बताउनुभयो । सरकारले खानेपानी आपूर्तिलाई गुणस्तरीय र सहज उपलब्धताका लागि ‘एक घर एक घारा’ कार्यक्रम कार्यान्वयनमा ल्याएको मुख्यमन्त्री लामाले जानकारी दिनुभयो । सो कार्यक्रमलाई सरकारले अभियानको रुपमा अघि बढाइरहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा खानेपानी उर्जा तथा सिंचाई मन्त्री श्याम खड्काले अलपत्र आयोजनाहरु पूर्णता गर्नेगरी अघि बढेको बताउनुभयो । उहाँले नागरिकको सुविधा र सहज पहुँचका लागि विगतमा संचालन भएका अधुरा आयोजनाहरु पूरा गर्नेगरी काम भइरहेको जानकारी दिनुभयो । उहाँले बिना तयारी आयोजना संचालन गर्ने प्रवृत्ति अन्त्य हुन जरुरी रहेको बताउनुभयो । अध्ययन बिनाका आयोजनाले प्रदेश सरकारलाई आर्थिक तथा अन्य रुपले थप समस्या बनाएको उहाँको भनाई छ । संविधानले व्यवस्था गरेका नागरिकको मौलिक हकका सन्दर्भमा सरकार गम्भीर रहेको पनि उहाँले बताउनुभयो । नागरिकको प्रत्यक्ष सरोकारका विषयलाई सरकारले प्राथमिकताका साथ अघि बढाएको मन्त्री खड्काले दावी गर्नुभएको छ ।