हेटौँडाः हेटौँडा–६, चौघडामा शुक्रबार बिहान अटोको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । हेटौँडा बजारबाट चुच्चेखोलातर्फ जाँदै गरेको ना २ ह २६९२ नम्बरको अटोको ठक्करबाट गम्भीर घाइते भएका हेटौँडा–६, शान्तिटोलका ६८ वर्षीय जनक राईको उपचारको क्रममा मृत्यु भएको हो ।
शुक्रबार बिहान ६ बजेर १५ मिनेटको समयमा अटोले ठक्कर दिएर घाइते भएका राईलाई हेटौँडा अस्पताल पुर्याइएको थियो । हेटौँडा अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि चितवन जिल्लाको भरतपुर महानगरपालिकास्थित पुरानो मेडिकल कलेज लगिएको थियो । मेडिकल कलेजमा उपचारको क्रममा राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । हेटौँडा–६, बारुतेका ३१ वर्षीय अटो चालक शंकर सार्कीलाई अटोसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।