प्रहरीले पक्राउ गरेको प्रमुख अभियुक्त ।

हेटौंडाः गत जेठ ३२ गते शुक्रबार बाराको कलैया बजारस्थित रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण प्रसाद कुशवाहाको हत्या गरेर फरार रहेका मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने बारा जिल्लाको आदर्शकोतवाल गाउँपालिका–२ का ४१ वर्षीय सुरेन्द्र प्रसाद कुशवाहा रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

५ महिनाअघि बाराको कलैयास्थित क्याम्पस प्रमुख हरिभुषणको हत्या भएको थियो । मुख्य अभियुक्त कुशवाहालाई मोरङ जिल्लाबाट बुधबार पक्राउ गरी ल्याएको बारा प्रहरीले जनाएको छ । सुरेन्द्र प्रसाद कुशवाहा समेत १७ जना व्यक्तिहरू एकीकृत भई क्याम्पस प्रमुखलाई गोली हानी हत्या गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले क्याम्पस प्रमुखको हत्यामा संलग्न भएको अभियोगमा पक्राउ गरेका चन्द्रमणि प्रसाद कुशवाहा, चाँदशी प्रसाद कुशवाहा, सुमेद कुमार कुश्वाहा, विनोद राउत कुर्मी, राधेश कुमार पटेल, अबधलाल कुशवाहा, चुल्हाई भन्ने श्रबण कुमार साह, हरिन्दर महरा चमार, ब्रहमदेव राम, मोतीलाल चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये राधेस कुमार पटेल र विनोद राउत कुर्मी धरौटीमा छुटेको छन् भने अन्य ८ जना अभियुक्त पुर्पक्षका लागि थुनामा पठाइएको बारा प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले घटनामा प्रयोग भएको पेस्तोल थान–२, गोली–७ राउण्ड, मोटरसाईकल–४ वटा, मोबाईल–४ वटा, ल्यापटप–२ वटा, सिमकार्ड–७ वटा बरामद गरेको थियो । पक्राउ परेका अभियुक्तलाई ज्यान सम्बन्धी र हातहतियार खरखजना सम्बन्धी कसुरमा मुद्दा दर्ता भई प्रारम्भिक सुनुवाई समेत पूरा भएको जिल्ला प्रहरी बाराले जानकारी दिएको छ ।