हेटौँडाः हेटौँडा–१७, हटियामा जारी वडाध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनलमा नेपाल चौरटोल विकास र गंगटे पुवाँले टोल विकास प्रवेश गरेको छ । बिहीबार भएको सेमीफाइनल खेलमा लक्ष्मीपुर टोल विकास संस्थालाई २–१ गोलले हराउँदै नेपाल चौर र दोस्रो खेलमा राजदेवी टोल विकास संस्थालाई २–० गोलले हराउँदै गंगटे पुवाँले टोल फाइनलमा प्रवेश गरेको हो ।
नेपालचौरबाट विवेक माझी र गंगटेबाट अल्पृत श्रेष्ठ म्यान अफ द म्याच घोषित भएका छन् । फाइनल खेल शुक्रबार हुनेछ । लक्ष्मी आधारभूत विद्यालयको खेलमैदानमा सोमबारबाट सुरु भएको अन्तर टोल विकास संस्थास्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगितामा १५ वटा टोल विकास संस्थाको सहभागिता रहेको थियो । प्रतियोगिताको उपाधि विजेता टिमले ५१ हजार ५१ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले ३१ हजार ३१ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । १७ नम्बर वडा खेलकुद विकास समितिले आयोजनामा गरेको प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन गरिएको छ ।