हेटौंडाः पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुर र बारा जिल्लाको सीमाक्षेत्र चुरियामाईमा कन्टेनर लोड भएको लरी ट्रक दुर्घटना भएको छ । लरी ट्रक दुर्घटना हुँदा राजमार्ग नै अवरुद्ध भएको छ । सडकमा तेर्सिएर पल्टिएको लरी ट्रकका कारण मान्छे समेत आउजाउ गर्न समस्या छ ।

बिहीबार बिहान वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको प्र २ ०३–००१ ख ६७३८ नम्बरको कन्टेनर लोड लरी ट्रक पल्टिएको हो । ट्रक चालक मनहरी गाउँपालिका–३ का ३० वर्षीय महेश मोक्तान घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले जानकारी दिनुभयो । मोक्तानको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । राजमार्ग सुचारु गर्न प्रहरीले लरी ट्रक हटाउने कार्य सुरु गरेको छ ।