Home खेलकुद टि–१० क्रिकेट प्रतियोगिता सुरु, उद्घाटन खेलमा नेपाल स्टारको सुखद् सुरुवात

टि–१० क्रिकेट प्रतियोगिता सुरु, उद्घाटन खेलमा नेपाल स्टारको सुखद् सुरुवात

हेटौंडाः नेपाल इत्तेहाद संगठन जिल्ला कार्यसमिति मकवानपुरको आयोजनामा टि–१० क्रिकेट प्रतियोगिता सुरु भएको छ । बुधबार हेटौंडा–४ स्थित हुप्रचौरमा सुरु भएको प्रथम संस्करणको टि–१० क्रिकेट प्रतियोगितामा नेपाल स्टार क्लबले सुखद सुरुवात गरेको छ । नेपाल स्टार क्लबले बिल्टफोर्टलाई ८२ रनले पराजित गरेको छ । टस हारेर पहिलो व्याटिङको निम्तो पाएको नेपाल स्टार क्लबले निर्धारित १० ओभरमा ५ विकेटको क्षतिमा १ सय २६ रन जोडेको थियो । विवेक सहनीले सर्वाधिक ५५ रन जोडेका थिए । गौरव खड्काले २७ रन र अर्जुन ठाकुरले १८ रन बनाएका थिए ।

टिम बिल्टर्फोर्टका नरेश साह र अस्लम आलमले समान २/२ विकेट लिएका थिए । १ सय २७ रनको लक्ष्य पछ्याएर जवाफी व्याटिङमा उत्रिएको टिम बिल्टफोर्टले निर्धारित १० ओभरमा ९ विकेटको गुमाएर ४४ रन मात्र जोड्न सफल भएको थियो । सरफराज अन्सारीले १२ रन बनाएका थिए नेपाल स्टारका युवराज साहले सर्वाधिक ३ विकेट लिएका थिए । विकास दास र मुकेश यादवले समान २÷२ विकेट लिएका थिए । म्यान अफ द म्याच विवेक सहनी घोषित भएका छन् ।

यस्तै, बिहिबार भएकै दोस्रो खेलमा हेटौंडा–५ स्थित जीएस निकेतन विजयी भएको छ । रोयल टाइगरलाई ८ विकेटले हराउँदै जीएस निकेतनको टिम विजयी भएको हो । टस जितेर पहिले व्याटिङ गरेको रोयल टाइगरले निर्धारित १० ओभरमा ३ विकेटको क्षतिमा ६७ रन बनाएको थियो । पर्वत सेञ्चुरीले सर्वाधिक २९ रन बनाएका थिए । सुजित खनालले १६ रन बनाएका थिए ।

जीएस निकेतनका मनिस, अनमोल थापा र अभिषेक श्रेष्ठले समान एक/एक विकेट लिएका थिए । ६७ रनको लक्ष्य पछ्याएको जीएस निकेतनले ८ ओभर ५ बलमा २ विकेट गुमाएर लक्ष्य भेट्टायो । जीएसका आस्तिक दहालले सर्वाधिक २७ रन बनाएका थिए । सक्षम वास्तकोटीले १८ रन र मनिष सुवेदीले १६ रन बनाएका थिए । रोयल टाइगरका श्रवण गौतम र सोना राइले समान १÷१ विकेट लिएका थिए । म्यान अफ द म्याच सृजन अधिकारी घोषित भएका छन् ।

यस्तै, तेस्रो खेलमा पठान इलेभनको क्रिकेट टिमले जीत निकालेको छ । मकवानपुरगढी गाउँपालिकाको मकवानपुरगढी क्रिकेट क्लबलाई ९ विकेटले हराउँदै पठान इलेभनले जीत निकालेको छ । टस जितेर पहिलो व्याटिङ गरेको मकवानपुरगढीले निर्धारित १० ओभरमा सब विकेटको क्षतिमा ३४ रन मात्र जोडेको थियो । पठान इलेभनको तर्फबाट शुभम् गुप्ता र राहुल यादवले समान ३÷३ विकेल लिएका थिए । सलमान एमडीले २ विकेट लिएका थिए । ३४ रनको लक्ष्य पछ्याएको पठानले १ ओभरमा २ विकेट गुमाउँदै ३६ रन बनाएको थियो । राहुल यादवले १७ रन र फरुक खानले १३ रन बनाएका थियो । मकवानपुरगढीका प्रकाश मुक्तानले १ विकेट लिएका हुन् । म्यान अफ द म्याच राहुल यादव घोषित भएका छन् ।

यस्तै, चौथो तथा अन्तिम खेलमा पठान स्ट्राइकरको टिम विजयी भएको छ । हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयलाई ४३ रनले पठान स्ट्राइकरले पराजित गरेको छ । टस जितेर पहिले व्याटिङ गरेको पठान स्ट्राइकरले निर्धारित १० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८ रन बनाएको थियो । पठान स्ट्राइकरका विके सहनीले सर्वाधिक ६६ रन बनाएका थिए । धिरज पटेलले १४ रन र जिशान अन्सारीले १३ रन बनाएका थिए । आधुनिक माविका रोहित ठाकुरले २ विकेट लिएका थिए । १ सय ९ रनको लक्ष्य पछ्याएको आधुनिक माविले ५ ओभरमा ६५ रन बनाउँदै अल आउट हुन पुगेको थियो । आधुनिकका रोहित ठाकुरले २१ बनाएका थिए । यता पठानका राजिव यादवले २ विकेट लिएका थिए ।

प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । उत्कृष्ट व्याट्सम्यान, उत्कृष्ट बलर, म्यान अफ द म्याच र प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई पनि ट्रफि प्रदान गरिने छ । प्रतियोगितामा मकवानपुर जिल्ला क्रिकेट संघको सहयोग रहेको छ । नेपाल मुस्लिम इत्तेहाद संगठनका जिल्ला इन्चार्ज मोहमद सफिकाको सभाध्यक्षमा तथा श्रम रोजगार तथा यातायतात मन्त्री प्रेमभक्त महजर्नको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन समारोह भएको हो ।

Exit mobile version