जिल्ला समिति सर्वसम्मत गठनपछि सपथग्रहण गर्दै ।

हेटौंडाः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको पहिलो जिल्ला भेला बिहीबार सम्पन्न भएको छ । जिल्ला भेलाबाट भरत पराजुली सर्वसम्मत सभापति चयन हुनुभएको छ । भरत पराजुलीको नेतृत्वमा ११ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन भएको छ ।

भेलाबाट सचिवमा सञ्जीब पाठक, सहसचिवमा शान्ति थापा, सदस्यमा सरला कार्की, राजकुमार कार्की, रमेश कुमार थापा, बिवेक शर्मा कट्टेल चयन हुनुभएको छ । भेलाले मकवानपुर क्षेत्र नम्बर १ र २ को संयोजक र १० वटै स्थानीय तहका सभापति र आमन्त्रित सदस्य २ गरी २३ सदस्यीय कार्यसमिति चयन भएको छ ।

जिल्ला भेलामा सहभागी ।

निर्वाचन क्षेत्र नम्बर १ को संयोजकमा टाकाराज थापा, उपसंयोजकमा अस्मिता न्यौपाने र सीसम माझी, सचिवमा किशोर अर्याल, सदस्यमा राजेन्द्र थापा, होम बहादुर थापा मगर र सीमा न्यौपाने चयन हुनुभएको छ । क्षेत्र नम्बर २ को संयोजकमा निराजन बर्तौला, उपसंयोजक शान्ता सत्याल बिष्ट र सन्तोष बर्तौला, सचिवमा राधिका सामरी पाण्डे, सदस्यमा सिर्जना सुनार, शालिग्राम ढुङ्गाना, संदीपा डोटेल चयन हुनुभएको छ ।

रास्वपा मकवानपुरले १० वटै पालिकामा समिति गठन गरेपछि जिल्ला भेला आयोजना गरेको जनाएको छ । जिल्ला भेलाको उद्घाटन रास्वपा बागमती प्रदेश समितिका सभापति डा. अच्युतम् लमिछानेले गर्नुभएको थियो । भेलामा रास्वपा बागमती प्रदेश समितिका प्रवक्ता उत्सव अर्यालको पनि आतिथ्य रहेको थियो ।