हेटौंडाः हेटौंडामा जारी तेस्रो संस्करणको नागस्वती भेट्रान्स फुटबल प्रतियोगितामा आयोजक नागस्वती भेट्रान्स ‘बी’, लेकसाइड भेट्रान्स र जोरपाटी भेट्रान्स सेमीफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा जित निकाल्दै तीन टिम सेमीफाइनल प्रवेश गरेको हो । बिहीबार नै आयोजक नागस्वती भेट्रान्स ‘ए’ र हेटौंडा भेट्रान्सबीचको खेल भने रात परेका कारणले स्थगित भएको छ ।
हेटौंडा–७, नागस्वतीस्थित नवज्योति माध्यमिक विद्यालयको खेलमैदानमा बिहीबार भएको पहिलो क्वार्टरफाइनल खेलमा हेटौंडा–४ स्थित पशुपति भेट्रान्स क्लबलाई २–० गोलअन्तरले हराएको छ । आयोजक ‘बी’ को जीतमा निलेन्द्र देवानले २ गोल गरे । देवान म्यान अफ द म्याच घोषित भए । बिहीबार नै भएको दोस्रो खेलमा चितवन जिल्लाको चितवन भेट्रान्सलाई पोखराको लेकसाइड भेट्रान्सले २–१ गोलअन्तरले पराजित गरेको छ । लेकसाइडको तर्फबाट कन्या सुब्बा गुरुङले २ गोल गरे । चितवनका लागि भुपेन्द्र कार्कीले १ गोल गरे । म्यान अफ द म्याच विश्वलाल श्रेष्ठ घोषित भए ।
यस्तै झापाको प्ले टुगेदर भेट्रान्सलाई जोरपाटी भेट्रान्सले सडेन डेथमा पराजित गरेको छ । निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि २–२ गोलको बराबरी भएपछि खेल सडेन डेथमा पुगेको थियो । म्यान अफ द म्याच सुरज सुवेदी घोषित भएका छन् । यस्तै आयोजक ए र हेटौंडा भेट्रान्सबीचको खेल स्थगित भएको छ । समय अनुकुल नभएर खेल खेलाउन सम्भव नभएकाले दोस्रो हाफमा खेल स्थगित गरिएको थियो । दोस्रो हाफमा नागस्वतीले २–१ गोलअन्तरले अगाडि रहेको थियो । नागस्वतीका राजेन्द्र थापा र अन्जय मानन्धरले समान १–१ गोल गरे । हेटौँडा भेट्रान्सका शभ्मु श्रेष्ठले १ गोल गरे । स्थगित खेललाई शुक्रबार बिहान सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिताको उपाधि विजेताले २ लाख १ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १ लाख १ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।