नेपालको कानुनले २० वर्षभन्दा मुनिको बिहेलाई गैरकानुनी मान्छ । २० वर्ष नपुगी विवाह गर्ने र गराउनेलाई समेत सजायको व्यवस्था कानुनले गरेको छ । २० वर्षभन्दा कम उमेरमा हुने विवाहलाई बालविवाह भन्ने गरिएको छ । बालविवाह कानुनीरुपमा दण्डनीय भए पनि नेपालको सबैजसो क्षेत्रमा बालविवाह भइरहेकै छ । सरकारले बालविवाहलाई निरुत्साहित गर्न ‘बिहेवारी २० बर्षपारि’ भन्ने नारा घन्काउने गरे पनि बालविवाह अन्त्य हुन सकेको छैन । बालविवाहकै एउटा साइड इफेक्टको रुपमा किशोरी आमालाई लिन सकिन्छ । २० वर्ष नपुगी आमा बन्ने किशोरीहरुको संख्याले बालविवाहको भयावह अवस्थालाई उजागर गर्दछ । बालविवाह अन्त्य गर्दै २० वर्ष पुगेपछि मात्र गर्भधारण गर्न गरिएको लगानी र प्रयास सार्थक बन्न सकेको छैन ।

कानुनअनुसार २० वर्षमै विवाह भएर छिट्टै बच्चा जन्माउँदा पनि महिलाको उमेर २१ वर्षको हुनुपर्ने हुन्छ । तर, वर्षेनि लाखौं किशोरी आमा बनिरहँदा कानुनको धज्जी उडिरहेको पाइन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस) २०२२ ले १५ देखि १९ वर्ष उमेर समूहका १४ प्रतिशत किशोरीहरू गर्भवती हुने गरेको देखाएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार १४ लाख ७१ हजार किशोरी रहेको अवस्थामा किशोरावस्थामै आमा बन्नेको संख्या २ लाख ६ हजार हुन आउँछ । २० वर्षभन्दा कम उमेर समूहका किशोरीको गर्भधारण प्रतिशत सन् १९९६ मा २३.९ प्रतिशत रहेकोमा सन् २०२२ मा १० प्रतिशतले घटेर १३.६ प्रतिशतमा झरेको एनडीएचएस सर्वेक्षणले देखाएको छ । सन् १९९६ मा १५ देखि १९ वर्ष उमेर समूहका ३१.८ प्रतिशत अशिक्षित किशोरीले गर्भधारण गरेका थिए भने २०२२ मा आउँदा पनि यो दर अझ बढेर ३२.७ प्रतिशत पुगेको छ ।

हेटौंडा उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०८०/८१ मा ४ सय २१ जना गर्भवती किशोरीहरुको निःशुल्क गर्भ परीक्षण गरेको छ । सोही आर्थिक वर्ष हेटौंडा अस्पतालमा २ सय ४५ किशोरीले शिशुलाई जन्म दिएका छन् । हेटौंडा अस्पतालमा आर्थिक वर्ष २०७८/७९ मा २० वर्षभन्दा कम उमेरका २ सय ५५ किशोरी आमा बनेको हेटौंडा अस्पतालले जनाएको छ । आर्थिक वर्ष २०७९/८० मा २ सय ७६ किशोरी आमा बनेका छन् । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ५७ जना किशोरी आमा बनेका छन् । हेटौंडा अस्पतालमा मासिक २० जना र वार्षिक २ सय ५० जनाको हाराहारीमा किशोरी आमा बन्ने गरेको तथ्यांकले देखाउँछ । हेटौंडा अस्पतालबाट प्रसुति सेवा लिनेमध्ये करिब ८ देखि १० प्रतिशत २० वर्ष मुनिका किशोरी रहने गरेको अस्पतालको तथ्यांक छ ।

विगतमा भन्दा किशोरावस्थामै गर्भाधारण गर्ने किशोरीको संख्या केही कम भए पनि अझै किशोरावस्थामै आमा बन्नेको संख्या उल्लेख्य रहेको छ । विद्यालय तहदेखि नै बालविवाह गर्न हुँदैन भनेर शिक्षा दिइन्छ । विभिन्न सरकारी तथा गैरसरकारी निकायले बालविवाह विरुद्ध सचेतना दिइरहकै छन् । मकवानपुर जिल्लाका कतिपय पालिकाहरु बालविवाहमुक्त मात्र नभई बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा भइसकेका छन् । हेटौंडा उपमहानगरपालिकालाई पनि बालश्रममुक्त, बालविवाहमुक्त र बालमैत्री शासनयुक्त पालिका घोषणा गर्ने तयारी स्वरुप विभिन्न वडाहरु बालमैत्री घोषणा भइसकेका छन् । तर, बालमैत्री पालिकामै बालविवाहका साथै किशोरावस्थामा गर्भवती बन्नेहरुको संख्या घट्न नसक्नुलाई गम्भीररुपमा लिनु आवश्यक छ । बालमैत्री घोषणाका लागि बालविवाहमुक्त हुनैपर्ने भए पनि तिनै पालिकामा बालविवाह भइरहनु र किशोरी आमा बनिरहनुले सरकारी घोषणा प्रभावहिन भएको मान्न सकिन्छ ।