हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा जारी दोस्रो संस्करणको चैनपूर जेसीज कप फुटबल प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ । बिहिबार क्र्वाटरफाइनल चरणको अन्तिम दुई खेलहरु सम्पन्न भएसँगै प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको हो ।
मनहरी गाउँपालिका–४ गोलघर खेलमैदानमा बिहीबार भएको पहिलो क्वार्टरफाइनल खेलमा विजयी हुँदै मनहरी–५ सेमीफाइनलमा प्रवेश गरेको छ भने दोस्रो क्वार्टरफाइनल खेलमा विजयी हुँदै मकवानपुरगढी गाउँपालिकाको जेसीआई मकवानपुरगढी सेमीफाइनलमा प्रवेश गरेको छ । मनहरी–२ लाई १–० गोलअन्तरले हराउँदै मनहरी–५ ले सेमीफाइनलमा आफ्नो स्थान पक्का गरेको हो भने हेटौंँडाको पदमपोखरी युनाईटेडलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले हराउँदै जेसीआई मकवानपुरगढीले सेमीफाइनलमा आफ््नो स्थान पक्का गरेको हो ।
मनहरी–५ को जीतमा निरभ घलानले निर्णायक गोल गरे । मकवानपुरगढी र पदमपोखरीबीचको खेल निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि नतीजाका लागि टाइब्रेकरको सहारा लिनु परेको थियो । टाइब्रेकरका मकवानपुरगढीका ५ जना खेलाडीले प्रहार गरेको बल गोलमा परिणत हुँदा पदमपोखरीको तर्फबाट ५ जना मध्ये ४ जनाले प्रहार गरेको बल मात्र गोलमा परिणत हुने पुग्यो । पहिलो खेलको म्यान अफ द म्याच मनहरी–५ का निरभ घलान भए भने दोस्रो खेलमा मकवानपुरगढीका गोलरक्षक अस्मिर गोङ्बा म्यान अफ द म्याच घोषित भएका छन् ।
प्रतियोगिता अन्तर्गत शुक्रबार हुने पहिलो सेमीफाइनल खेलमा मकवानपुरगढीले नमोबुद्ध एफसीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ भने शनिबार हुने सेमीफाइनल खेलमा मनहरी–५ ले परेली एफसीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । प्रतियोगितामा १६ वटा टिमहरुको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधि विजेताले १ लाख ११ हजार रुपैयाँ १ सय ११ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले ५१ हजार १ सय ५१ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । मनहरी गाउँपालिकाको सहयोग तथा ४ नम्बर वडा कार्यालयको मुख्य प्रयोजनमा प्रतियोगिता सञ्चालन भइरहेको छ ।