हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा जारी चैनपूर जेसीज कप खुला फुटबल प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । चैनपूर जेसीजको आयोजनामा जारी प्रतियोगिताअन्तर्गत मंगलबार प्रि–क्र्वाटरफाइनल चरणको अन्तिम दुई खेलहरु सम्पन्न भएसँगै क्वार्टरफाइनल समीकरण पूरा भएको हो ।
मनहरी गाउँपालिका–७, गोलघर खेलमैदानमा भएको पहिलो खेलमा विजयी हुँदै हेटौंडाको पदमपोखरी युनाइटेड एफसी र मनहरी गाउँपालिकाको ५ नम्बर वडा क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । प्रि–क्वार्टरफाइनल चरणको दुबै खेलहरु टाइब्रेकरमा सम्पन्न भएको छ । पहिलो खेलमा पदमपोखरीले आरआर एफसीलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले हराएको हो भने दोस्रो खेलमा मनहरी–५ ले ऋषेश्वरी क्लबलाई टाइब्रेरमा ८–७ गोलले हराएको हो । दुबै खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि नतीजाका लागि टाइब्रेकरको सहारा लिनुपरेको थियो ।
मनहरी–५ र ऋषेश्वरी क्लबबीचको खेलमा निकै प्रतिस्पर्धात्मक भएको थियो । टाइब्रेकरमा दुबै पक्षका ५–५ जना खेलाडीले बल प्रहार गर्दा पनि बराबरी भएपछि खेल सडन डेथमा पुगेको थियो । तर दुबै पक्षबाट फेरी ५ जनाले बल प्रहार गरेपछि मात्र नतीजा निकलिएको हो । पहिलो खेलको म्यान अफ द म्याच पदमपोखरीका गोलरक्षक रोजक थिङ र दोस्रो खेलको म्यान अफ द म्याच मनहरी–५ का गोलरक्षक अमीत स्याङ्तान घोषित भए । प्रतियोगिता अन्तर्गत बुधबारको पहिलो क्वार्टरफाइनल खेलमा ढेँडो एफसी र सक्षम युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा जनसिद्ध युवा क्लब र एफसी परेली क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा १६ वटा टिमहरुको सहभागिता रहेको छ ।
प्रतियोगिताको फाइनल खेल मंसीर ३ गते हुनेछ । प्रतियोगिताको उपाधि विजेता टिमले १ लाख ११ हजार रुपैयाँ १ सय ११ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले ५१ हजार १ सय ५१ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । मनहरी गाउँपालिकाको सहयोग तथा ४ नम्बर वडा कार्यालयको मुख्य प्रयोजनमा प्रतियोगिता सञ्चालन भइहरेको छ । गत वर्ष भएको पहिलो संस्करणको प्रतियोगिताको उपाधि बागमती प्रदेश प्रहरी गण हेटौँडाले जितेको थियो ।