हेटौँडाः हेटौंडाको थोक तरकारी बजामा सागको मूल्य सामान्य बृद्धि भएको छ । सोमबार प्रतिमुठा १५ रुपैयाँमा थोक मूल्यमा बिक्री भएको साग बुधबार ५ रुपैयाँ बढेर प्रतिमुठा २० रुपैयामा बिक्री भैरहेको व्यवसायी बद्रि घिमिरेले जानकारी दिनुभएको छ । मंगलबार हरिबोधनी एकादशी परेका कारण सागको मूल्यमा थोरै बृद्धि भएको घिमिरेको भनाई छ ।

अन्य तरकारी भने सोमबारकै मूल्यमा बिक्रीवितरण भैरहेको घिमिरेले बताउनुभयो । सोमबार तरकारी बजारमा काउली प्रतिकिलो ९० रुपैयाँ, बन्दा ५०, मकै बोडी ५०, तने बोडी पनि ५०, गोलभेँंडा १२०, करेला १००, हरीयो खोर्सानी १०० र हरीयो धनियाँ ७० रुपैयाँसम्मं प्रतिकिलो थोक मूलयमा बिक्री भएको थियो । यस्तै नयाँ आलु ७५ र पुरानो आलु ५५ रुपैयाँ प्रतिकिलो बिक्री भएको थियो । अबको २ सातापछि भने स्थानीय तरकारीको उत्पादन बढेपछि मूल्यमा गिरावट आउने घिमिरेले बताउनुभयो । उहाँका अनुसार अबको २ सातापछि मकवानपुरको मार्खु चित्लाङ्ग, पालुङ्ग, मनहरी, सामरी, सिस्नेरी, हटीया, हाँडीखोला, मक्रान्चुली तथा तराईका जिल्लाहरुबाट तरकारीको आयातमा बृद्धि हुनेछ ।