हेटौंडाः मेची–महाकाली साइकलयात्री समूह हेटौंडा आइपुगेका छन् । कात्तिक २४ गते मेची पुलबाट मेची–महाकाली राष्ट्रिय यात्रा सुरु गरेका ३ जना मंगलबार हेटौंडा आइपुगेका हुन् । ‘जलवायु परिवर्तन, न्यायका लागि साइकल’ भन्ने लक्ष्यसहित हेटौंडा आइपुगेका हेटौंडा–१८ हर्नामाडीका बरुण खतिवडा, हेटौंडा–८ कमानेका कृष्ण प्रसाद आर्चाय र हेटौंडा–७ नागस्वतीका पृथ्वी बहादुर रायमाझीलाई हेटौंडा–१० स्थित बुद्धचोकमा हिमालयन राइडर्स सोसाइटीका अध्यक्ष राजु थापा मगर सहितको टोलीले स्वागत गरेका थिए ।
“राष्ट्रका लागि साइकल र स्वास्थ्यका लागि साइकल” भन्ने नारालाई सार्थक बनाएर पहिलो दिन बिहान ७ बजे मेची पूलबाट यात्रा सुरु गरेर पहिलो दिन सुनसरी, दोस्रो दिन लगभग १ सय १६ किलोमिटरको यात्रा पूरा गरेर मिर्चैया, तेस्रो दिन रौटहट जिल्लाको चन्द्रनिगाहपूरबाट ७६ किलोमिटरको यात्रा पूरा गरेर चौथो दिनमा हेटौंडा आइपुगेको साइकलयात्री वरुण खतिवडाले जानकारी दिनुभएको छ । मेची–महाकाली यात्रीहरु मध्ये कमानेका कृष्णप्रसाद आचार्य सबैभन्दा बढी ६९ वर्ष उमेर समूहका हुनुहुन्छ भने बरुण खतिवडा ५७ वर्ष उमेर समूहको हुनुहुन्छ । यस्तै पृथ्वी बहादुर रायमाझी ६२ वर्ष उमेर समूहका हुनुहुन्छ ।
उहाँहरुले ११ दिनसम्म मेची–महाकालीको राष्ट्रिय यात्रा पूरा गर्ने लक्ष्य लिएको बताउनुभएको छ । बुधबार बिहान ७ बजे हेटौंडाबाट यात्रा सुरु गरेर नवलपरासीसम्म पुग्ने उहाँहरुले बताउनुभएको छ । गाडी, मोटरसाइकलहरुमा यात्र गरेको भन्दा साइकलमा यात्रा गर्दा प्रकृतिमा पनि फाइदा पुर्याउने गरेको बताउनुहुँदै उहाँहरुले भन्नुभयो, “साइकल चलाउँदा त्यसबाट कुनै प्रकारको नकारात्मक कुराहरु निस्कँदैन र धुँवा नआउने भएको कारणले हावालाई असर गर्दैन । साइकल चलाउँदै सीमित गतिमा चलन भएको कारणले जंगली जनावहरुलाई मूल्यांकन गर्न पाउने, जंगलको हरियाली वातावरण मूल्यांकन गर्न पाइने छ । त्यसैले पनि साइकलमा यात्रा गर्नु उचित हुन्छ ।
वि.सं २०५४ सालमा पहिलो पटक मकवानपुरका ११ जनाले मेची–महाकालीको राष्ट्रिय यात्रा सुरु गरेको यात्रीहरुले बताउनुभयो । यात्रा सुरु गरेको झण्डै २५ वर्षपछि ११ जना मध्ये २५ वर्षपछि यात्रा गर्ने ११ जना मध्ये २ जना भानुभक्त आचार्य र लक्ष्मीचरण श्रेष्ठले यसलाई दोहोर्याउनका लागि गत वर्ष मकवानपुरका ११ जना र बुटवलका १३ जनाले मेची–महाकालीको यात्रालाई पूरा गरेको थियो । उक्त यात्रामा मकवानपुरकी महिला सीता श्रेष्ठ पनि सहभागी हुनुभएको थियो । यात्रा पूरा भएलगत्तै छिमेकी मुलुक भारतको नैनीतालसम्मको ४० किलोमिटरको यात्रा पूरा गर्ने लक्ष्य लिएको साइकलयात्रीको भनाई छ । साइकल चलाउनाले वातावरणको पनि संरक्षण गर्ने भएकोले यसको छुट्टै महत्व हुने हिमालयन राइडर्स सोसाइटीका अध्यक्ष राजु थापा मगर बताउनुहुन्छ ।