हेटौँडाः बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या बढाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा रहेको मन्त्रालयको संख्या बढाएर १४ पुर्याएको छ ।
मन्त्रिपरिषद् बैठकले मन्त्रालयको संख्या थप गरी मन्त्रिपरिषद्को कार्यविभाजन स्विकृत गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिनुभएको छ । उहाँका अनुसार बैठकले प्रदेशमा सहकारी तथा गरिबी निवारण मन्त्रालय खडा गर्ने निर्णय गरेको छ । उक्त कार्यविभाजन अनुसार मन्त्रीको जिम्मेवारी भने नतोकिएको उहाँले जानकारी दिनुभयो । मुख्यमन्त्री बहादुर सिंह लामाले कार्यविभाजन अनुसार सो मन्त्रालयमा मन्त्रीको जिम्मेवारी तोक्ने उहाँले बताउनुभयो ।
बहादुर सिंह लामा नेतृत्वको बागमती प्रदेश सरकारमा ११० दिनदेखि एक जना बिना विभागीय मन्त्री रहनुभएको छ । साउन ९ गते मुख्यमन्त्री लामाले नियुक्त गर्नुभएका एक मन्त्रीले जिम्मेवारी पाउन सकेको छैन । साउन १२ मा सरकारलाई पूर्णता दिएर साउन १५ मा विश्वासको मत लिनुहुँदै सरकार सुरक्षित गर्नुभएका मुख्यमन्त्री लामाले प्रदेशको १३ मन्त्रालयमा कांग्रेसका ७ र एमालेका ६ मन्त्री नियुक्त गर्नुभएको थियो । जसमा कांग्रेसका मदुकुमार श्रेष्ठले जिम्मेवारी पाउन सक्नुभएको थिएन । मन्त्रालयको संख्या बढाएसँगै श्रेष्ठले पनि विभागीय जिम्मेवारी पाउनुहुने भएको छ ।