कार्यशालामा निर्माण गरिएको सामग्री प्रदर्शन गर्दै शिक्षकहरु

हेटौँडाः मकवानपुरको बकैया गाउँपालिकाका ३५ विद्यालयमा कार्यरत पूर्वप्राथमिक र प्राथमिक तहका शिक्षकका लागि शैक्षिक सामग्री निर्माण र तिनको प्रयोगसम्बन्धी ३ दिवसीय कार्यशाला सम्पन्न भएको छ । शनिबारदेखि सुरु भएको कार्यशालामा सहभागी शिक्षकले निर्माण गरेका शैक्षिक सामग्रीको प्रदर्शनीसहित सोमबार कार्यशालाको समापन गरिएको छ ।

इस्थर बेञ्जामिन स्मृति संस्थाको आयोजनामा कार्यशाला भएको हो । हेटौँडा–५ स्थित रिगल हेटौँडा रिसोर्टमा आयोजना गरिएको कार्यशालाको समापनमा बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछाने, शिक्षा शाखाका प्रमुख आइतराम तामाङ, इस्थर बेञ्जामिन स्मृति संस्थाका कार्यकारी निर्देशक आत्मराम थापाको उपस्थिति रहेको थियो । कार्यशालालाई पवन कुमार अधिकारीले सहजीकरण गर्नुभएको थियो ।

‘उत्कृष्ट कक्षाकोठा, उत्कृष्ट सिकाई’ भन्ने मर्मलाई आत्मसात गरी कार्यशालाको आयोजना गरिएको हो । निशूल्क तथा न्यूनतम् शूल्कमै उपलब्ध हुन सक्ने स्थानीय स्रोतको प्रयोग गरेर शैक्षिक सामग्री तयार पारेर क्रियाकलापमा आधारित भई प्रभावकारी सिकाई सम्भव हुने बुझाउन र शिक्षकलाई सोहीअनुरुप तयारी गर्न सक्षम तुल्याउने गरी कार्यशालाको आयोजना गरिएको सहजकर्ता अधिकारीले बताउनुभयो । खेल्दै सिक्ने वातावरण बनाउन शिक्षकलाई सक्षम बनाउने प्रयास भएको उहाँले बताउनुभयो ।

यता कार्यशालामा सहभागी शिक्षकले भने कार्यशालामा सिकेका आधारमा प्रभावकारी सिकाईका लागि उपयुक्त देखिए पनि कार्यशालामा सिकेका कुरालाई कक्षाकोठामा अभ्यासमा ल्याउन अझै कठिन रहेको औँल्याएका छन् । निशूल्क तथा न्यूनतम् शूल्कमा स्थानीय स्रोतको प्रयोग गरेर शैक्षिक सामग्री बनाउने भनिए पनि विद्यालयसँग न्यूनतम् बजेट समेत नहुनु, सीमित संख्यामा शिक्षक हुनु, शैक्षिक सामग्री निर्माण र त्यसको प्रभावकारी प्रयोगका लागि विद्यालयमा वातावरण निर्माण गर्न कठिन भएको एक सहभागीले बताए । कार्यशालामा सहभागी अधिकांश शिक्षकका लागि यस किसिमको अभ्यासमा सहभागी भएको पहिलो अनुभव रहेको प्रतिक्रिया दिएका छन् ।