बागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडा ।

हेटौँडाः आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा हेटौंडा–१२ मा १ हजार ५ सय ८८ मतदाता थपिएका छन् । २०७९ सालको स्थानीय तहको निर्वाचनको तुलनामा १ हजार ५ सय ८८ मतदाता थपिएका हुन् ।

निर्वाचन आयोगले आगामी उपनिर्वाचनमा हेटौंडा–१२ को वडा अध्यक्ष पदका लागि ८ हजार ५३ मतदाता कायम गरेको छ । जसमा पुरुष ३ हजार ८ सय ७८, महिला ४ हजार १ सय ७४ र अन्य १ जना मतदाता कायम गरिएको छ । २०७९ सालको स्थानीय तह निर्वाचनमा उक्त वडामा ६ हजार ४ सय ६५ मतदाता कायम गरिएको थियो । आयोगले हेटौंडा–१२ मा आगामी उपनिर्वाचनका लागि २ वटा मतदानस्थल कायम गरेको छ भने ९ वटा मतदान केन्द्र कायम गरिएको छ । उपनिर्वाचनका लागि मकवानपुर जिल्ला अदालतकी न्यायाधीश अवानी मैनाली भट्टराईलाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ ।

निर्वाचनका लागि यही कत्तिक ३० मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने छ भने मंसिर २ बाट निर्वाचनका कार्यक्रम संचालन गरिने छ । एक जना वडा अध्यक्ष पदका लागि मंसिंर १६ मा मतदान हुने निर्वाचन आयोगको कार्यक्रम तालिका रहेको छ ।

सो निर्वाचनमा दलहरुले उम्मेदवार तोकेर चुनावी अभियानमा अघि बढेका छन् । निर्वाचनका लागि कांग्रेसले अजुन तिवारीलाई टिकट दिएको छ भने एमालेले राजेश नगरकोटी र माओवादी केन्द्रले रविन प्रधानलाई टिकट दिएको छ । राप्रपाले प्रेम लामा भ्लोनलाई टिकट दिँदा एकीकृत समाजवादीले बलराम बललाई उम्मेदवार बनाएको छ । रास्वपाले आशावीर बललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।