हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा जारी चैनपूर जेसीज खुला फुटबल प्रतियोगिता अन्तर्गत सोमबारको पहिलो खेलमा मकवानपुरगढी गाउँपालिकाको जेसीआई मकवानपुरगढीले सहज जीत दर्ता गरेको छ ।
मनहरी गाउँपालिकास्थित गोलघर खेलमैदानमा भएको पहिलो खेलमा हेटौंडा उपमहानगरपालिकाको कमाने फुटबल एकेडेमीलाई ३–० को गोलअन्तरले हराउँदै जेसीआई मकवानपुरगढीले सहज जीत दर्ता गरेको हो ।
मकवानपुरगढीको जीतमा मिलन स्याङ्तानले २ गोल गरे भने मनिष पौडेलले १ गोल गरे । म्यान अफ द म्याच मकवानपुरगढीका मिलन स्याङ्तान घोषित भएका छन् । यस्तै, सोमबार नै भएको दोस्रो खेलमा मनहरी ५ ले जीत निकालेको छ । हेटौँडाको नारायणी कलेजलाई टाइब्रेकरमा ५–४ गोलले हराउँदै मनहरी–२ ले रोमाञ्चक जीत निकालेको हो । म्यान अफ द म्याच नारायणी कलेजका सन्तोष गोङ्बा घोषित भए । प्रतियोगितामा १६ वटा टिमहरुको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल मंसीर ३ गते हुनेछ ।
प्रतियोगिताको उपाधि विजेता टिमले १ लाख ११ हजार रुपैयाँ १ सय ११ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले ५१ हजार १ सय ५१ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । मनहरी गाउँपालिकाकोको सहयोगमा तथा ४ नम्बर वडा कार्यालयको मुख्य प्रायोजनमा प्रतियोगिता सञ्चालन भइरहेको छ । प्रतियोगिता अन्तर्गत मंगलबार पहिलो चरणको अन्तिम दुई खेल हुँदैछ । पहिलो खेलमा पदमपोखरी युनाईटेड र आरआर वाइसी बीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा मनहरी–५ र ऋषेश्वरी युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । गत वर्ष भएको पहिलो संस्करणको प्रतियोगिताको उपाधि प्रदेश प्रहरी गणले जितेको थियो ।