एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पासँग एन्फाको शिक्षा तथा प्रवद्र्धन समितिको सदस्यको जिम्मेवारी ग्रहण गर्नुहुँदै दिपेन्द्र ढकाल (दायाँ) । फाइल तस्वीर ।

हेटौंडाः राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव पदका लागि मकवानपुरका दिपेन्द्र ढकालले पनि उम्मेदवारी दिनुभएको छ । नयाँ खेलकुद विकास ऐन जारी भएसँगै भंग भएको राखेपमा नयाँ सदस्य सचिव नियुक्तिका लागि युवा तथा खेलकुद मन्त्रालयले प्रस्ताव आव्हान गरेको थियो । मकवानपुरका दिपेन्द्र ढकाल, निवर्तमान सदस्य सचिव रमेश सिलवालसहित २७ जनाले आवेदन दिएको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । बिहीबारसम्म आवेदन दिन मन्त्रालयले प्रस्ताव आव्हान गरेको थियो ।

ढकालले सदस्य सचिव पदका लागि अनलाइनमार्फत नै बिहीबार आवेदन दिनुभएको हो । शारीरिक शिक्षा विषयमा स्नात्तकोत्तर तह उपाधी हासिल गर्नुभएका मकवानपुरका ढकाल जिल्ला खेलकुद विकास समितिमा ४ वर्ष सदस्य र ४ वर्ष उपाध्यक्ष पदमा रहेर काम गरिसक्नुभएको छ । अहिले अखिल नेपाल फुटबल संघ (एन्फा) को शिक्षा एवम् प्रवद्र्धन समितिको सदस्य रहनुभएका ढकालले कानून विषयमा स्नातक उपाधी हासिल गर्नुभएको छ भने हेटौंडा क्याम्पसमा सहायक प्राध्यापकको रुपमा प्राध्यापनरत समेत हुनुहुन्छ । सदस्य सचिवका लागि आफू योग्य रहेकोले आवेदन दिएको बताउनुहुँदै ढकालले भन्नुभयो, ‘कार्ययोजनासहित अनलाइनमार्फत राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव पदका लागि आवेदन दिएको छु । मैले आफ्नो योग्यता र इच्छाले मात्रै नभई मेरा अग्रजको समेत सुझावका आधारमा आवेदन दिएको हुँ ।’

खेलकुद विकास ऐन २०७७ अनुसार सदस्य सचिव छनोटका लागि मन्त्रालयका सचिव रामप्रसाद थपलियाको सिफारिस ३ सदस्य समिति रहेको छ । जसको सदस्यमा इन्दिरा निरौला र रिम रानाभाट छन् । आवेदन बुझाएका मध्येबाट सिफारिस समितिले कम्तीमा एक महिलासहित ३ जनाको नाम सिफारिस गर्नेछ । त्यसमध्येबाट एक जनालाई मन्त्रीपरिषद्ले ४ वर्षका लागि सदस्य सचिव नियुक्त गर्नेछ । गत महिना राष्ट्रपति विद्यादेवी भण्डराीबाट प्रमाणीकरण भएको नयाँ ऐनअनुसार राखेपको सदस्य सचिवका लागि पाँचवटा मापदण्ड तोकिएको छ । जसमा नेपाली नागरिक, स्नातक उत्तीर्ण, ३० वर्ष पूरा भएको, कम्तीमा पाँच वर्ष खेलकुदको अनुभव र प्रचलित कानुनले अयोग्य नभएको हुनुपर्ने उल्लेख छ ।