हेटौँडाः नुवाकोट जिल्लाको लिखु गाउँपालिका–६, दोबाटेमा मोटरसाइकल अनियन्त्रीत भई आइचर ट्रकमा ठोकिँदा मोटरसाइकलको पछाडी सवार एक जनाको मृत्यु भएको छ । बिहीबार टोखा छहरे सडक खण्डमा काठमाण्डौबाट खरानीटार तर्फ जाँदै गरेको बा ६२ प २८७९ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई ढिकुरेबाट छहरे तर्फ जाँदै गरेको बा ५ ख ७०१६ नम्बरको आईचर ट्रक एक–आपसमा ठोकिँदा मोटरसाइकलको पछाडि सवार तादी गाउँपालिका–३ का ३६ वर्षीय बिनोद चौलागाईको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

मोटरसाइकल अनियन्त्रीत भई पैदल यात्रीलाई समेत ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट लिखु गाउँपालिका–५ का १८ वर्षीय प्रशान्त गोतामेसहित चालक तादी गाउँपालिका–३ का ३२ वर्षीय राजाराम श्रेष्ठ र चौलागाई घाइते भएका थिए । घाइते तिनै जनालाई उपचारका लागि ग्रिनसिटि अस्पताल काठमाण्डौ लगिएकोमा उपचारको क्रममा चौलागाईको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । आईचर चालक नुवाकोट ककनी गाउँपालिका–५, डाडाँगाउ का ३२ वर्षीय शान्तसिहं लामालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय लगिएको प्रहरीले जानकारी दिएको छ ।