हेटौँडाः २० औं संस्करणको द हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले शानदार सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा नेपालले इङ्ल्यान्डलाई पराजित गरेको हो । मिसन रोड ग्राउण्डमा शुक्रबार बिहान भएको खेलमा नेपालले इंग्ल्याण्डलाई ६ विकेटले पराजित गरेको हो ।
टस जितेर नेपालले तीन पटकको च्याम्पियन इङ्ल्यान्डलाई व्याटिङको निम्तो दिएको थियो । पहिले व्याटिङ गरेको इंग्ल्याण्डले ५ ओभर ५ बलमा सबै विकेट गुमाएर ९७ रन जोड्न सफल भएको थियो ।
९८ रनको लक्ष्यसहित जवाफी व्याटिङ थालेको नेपालले ४ ओभर २ बलमै बिना कुनै विकेट क्षति लक्ष्य भेट्टाएको छ । नेपालका लागि कप्तान सन्दिप जोराले १२ बलमा ६ छक्का, ३ चौकासहित ५० रन जोडेपछि रिटायर्ड हर्ट भए । सन्दिपको ठाउँमा आएका रसिद खानले ५ बल खेल्दै २ छक्का, २ चौकासहित २१ रनको योगदान दिए । अर्का ओपनर लोकेश बमले ११ बलमा २ छक्का १ चौकासहित २० रन जोड्दै शानदार जित निकाल्यो ।
प्रतियोगितामा १२ टोलीको सहभागीता रहेको छ । सहभागी १२ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा साविक विजेता दक्षिण अफ्रिका, न्युजिल्यान्ड र हङकङ तथा समूह ‘बी’ मा नेपाल, इङ्ल्याण्ड र अस्ट्रेलिया रहेका छन् । समूह ‘सी’ मा भारत, पाकिस्तान र युएई तथा समूह ‘डी’ मा श्रीलङ्का, बङ्गलादेश र ओमान छन् । हरेक समूहका शीर्ष दुई टोली क्वाटरफाइनलका लागि छनोट हुनेछन् ।
प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल कात्तिक १८ गते हुनेछ । सन् २०१७ मा भएको प्रतियोगिताको पछिल्लो संस्करणमा पाकिस्तानलाई पराजित गर्दै दक्षिण अफ्रिका विजेता बनेको थियो । प्रतियोगिताका खेलहरुमा हरेक टोलीबाट छ खेलाडी सहभागी हुनेछन् ।