सांकेतिक तस्वीर ।

हेटौँडाः चितवन जिल्लामा २ जना मृत फेला परेका छन् भने सिन्धुली जिल्लामा एकजनाको करेन्ट लागेर मृत्यु भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले दिएको जानकारी अनुसार आइतबार चितवनको भरतपुर महानगरपालिका–५, गुलाबबागमा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा नवलपरासीको देवचुली नगरपालिका–७ का ५१ वर्षीय मित्र बहादुर केसी रहेको प्रहरीले जानकारी दिएको छ । आइतबार बिहान ९ बजेको समयमा केराबारीमा केसी मृत अवस्थामा फेला परेका थिए । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।

चितवनको ईच्छाकामना गाउँपालिका–४, लेवाटारस्थित त्रिशुली नदि किनारमा एक जना पुरुषको शव फेला परेको छ । आइतबार अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । शवको सनाखत हुन सकेको छैन । यस्तै सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–५ नारिण खोलामा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६४ वर्षीया अम्बिका तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । आइतबबार तामाङ बास, टाटी र फुसको छानो भएको एक तले आफ्नो घर अगाडिको ढोकामा रहेको पहेँलो रेश्मि तारबाट करेन्ट लागेर मृत अवस्थामा फेला परेकी थिइन् । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिन्धुली लगिएको प्रहरीले जनाएको छ ।