बुढीचौरका किसानले टनेलभित्र फलाएको गोलभेँडा । फाइल तस्वीर ।

हेटौँडाः हेटौंडामा तरकारीको भाउ सामान्य ओरालो लागेको छ । सोमबार काउली, हरियो साग, हरियो खुर्सानी, हरियो धनिया, गोलभेँडा, तन्ने बोडी, करेलाको भाउ घटेको छ भने आलु, घिउ सिमी, मकै बोडी, गाजर, हरियो फर्सी, लौका, च्याउ लगायतका तरकारीहरुको यथावत रहेको छ ।

नेपाल फलफुल तथा तरकारी व्यवसायी संघ मकवानपुरका सल्लाहकार तथा थोक बिक्रेता बद्री घिमिरेका अनुसार काउली आइतबारको तुलनामा १० रुपैयाँ घटेर प्रतिकेजी ८० रुपैयाँमा बिक्री भएको छ । त्यस्तै गोलभेँडा किलोमा २५ रुपैयाँ घटेर १०८ देखि ११० रुपैयाँ, हरियो साग मुठामा ५ रुपैयाँ घटेर प्रतिमुठा २० रुपैयाँ, हरियो धनिया किलोमा ५० घटेर १५० रुपैयाँ, करेला प्रतिकेजी १० रुपैयाँ घटेर ६० रुपैयाँमा थोकबजारमा बिक्री भइरहेको हो ।

अघिल्लोे साता अचाक्ली महँगो भएको तरकारीको मुल्यमा अहिले गिरावट आएको छ । अहिले हरेक स्थानीय बजारमा तरकारीको उत्पादन बढेकाले तरकारीको भाउ घटेको हो । यो क्रम तिहारपछि भने झनै ओरालो लाग्ने व्यवसायीहरुले बताएका छन् ।