हेटौँडाः अहिले देशभर तरकारीको भाउ घटेको छ । अघिल्लोे साता अचाक्ली महँगो भएको तरकारीको मुल्यमा गिरावट आएको हो । गत साताको तुलनामा यो साता बजारमा आलु, काउली, बोडी, गोलभेंडा, हरियो साग लगायतका तरकारीको भाउमा ३० प्रतिशतसम्म गिरावट आएको नेपाल फलफुल तथा तरकारी व्यवसायी संघ मकवानपुरका सल्लाहकार एवम् थोक बिक्रेता बद्री घिमिरेले जानकारी दिनुभयो ।
अहिले हरेक स्थानीय बजारमा तरकारीको उत्पादन बढेकाले तरकारीको भाउ घटेको घिमिरेले बताउनुभयो । उहाँका अनुसार आइतबार हेटौँडामा आलु प्रतिकेजी ८२ रुपैयाँ, काउली ९० रुपैयाँ, लौका ४० रुपैयाँ, बोडी ६० रुपैयाँ र हरियो राम्रो साग प्रतिमुठा २५ देखि ३० रुपैयाँसम्म थोक बजारमा बिक्री भइरहेको छ । मुलाको भाउमा भने कुनै घटबढ नभएको घिमिरेले जानकारी दिनुभयो । तरकारीको मूल्यमा तिहारपछि भने ६० प्रतिशतसम्म गिरावट आउने उहाँले बताउनुभएको छ ।










