यु–१९ क्रिकेट प्रदेश टिममा पर्न सफल मकवानपुरका गोकुल अधिकारी ।

हेटौँडाः १९ वर्ष उमेर समूह (यु–१९) को बागमती प्रदेश क्रिकेट टिममा मकवानपुरका गोकुल अधिकारी छनोट हुनुभएको छ । १९ वर्ष उमेर समूहको राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी हुन बागमती प्रदेश क्रिकेट संघले शनिबार सार्वजनिक गरेको टिममा मकवानपुरका अधिकारी मात्रै टिममा समेटिनु भएको हो । अधिकारीले छनोट प्रतियोगितामा मकवानपुर जिल्लाको कप्तानी गर्नुभएको थियो । अधिकारी सुरुवाती व्याट्सम्यान हुनुहुन्छ ।

मकवानपुरसहित ६ जिल्लाको सहभागिता रहेको प्रदेशस्तरीय छनोट प्रतियोगितामा जितबिहिन रहँदै मकवानपुर अंकतालिकाको पुछारमा रहेको थियो । यसअघि गत वर्ष प्रदेश टिममा पर्न सफल मोहम्मद राजा अहमद भने यस वर्ष प्रदेश टिम छनोट खेलमा घाइते भएका कारण छनोटको सम्भावना कमजोर भएको मकवानपुर जिल्ला क्रिकेट संघका सचिव विनोद कुमार बानियाँले जानकारी दिनुभयो । उमेर समूहकै आधारमा नियमित प्रशिक्षणको व्यवस्था गर्न नसक्नु, प्रतियोगिताको सूचना आएपछि छोटो अवधिमा सूचित गरेर टिम तयार पार्नुपर्ने बाध्यताले प्रदेश र राष्ट्रिय टिममा जिल्लाको प्रतिनिधित्व नगन्य या शून्य हुने अवस्था रहेको सचिव बानियाँको भनाइ छ ।

शनिबार नै कोशी प्रदेशको विराटनगरमा सुरु भएको १९ वर्ष उमेर समूहको राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले सोमबार पहिलो खेल गण्डकी प्रदेशसँग खेल्दै छ । बागमती प्रदेश क्रिकेट संघले प्रदेश टिमको प्रशिक्षकमा रिकेश लामा र सोनु तामाङलाई व्यवस्थापक एवम् सहायक प्रशिक्षकको जिम्मेवारी दिएको छ ।