सांकेतिक तस्वीर ।

हेटौँडाः बागमती प्रदेशको ३ जिल्लामा एकैदिन ५ जना मृत फेला परेका छन् । प्रदेशको चितवन जिल्लामा ३ जना र काभ्रे र धादिङ जिल्लामा एक–एक जना गरी ५ जना मृत फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका–७, पुजारी टापुमा एक जना वृद्ध मृत फेला परेका छन् । मृत फेला पर्नेमा ७४ वर्षीय बल बहादुर श्रेष्ठ रहेको प्रहरीले जानकारी दिएको छ । शनिबार राति १० बजेको समयमा श्रेष्ठ आफ्नै घरमा कोठामा सुतिरहेको अवस्था मृत फेला परेको प्रहरीले जनाएको छ । धादिङको खनियाबास गाउँपालिका–४, दार्खामा बाटोमा लडेर एक जना वृद्ध मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा ७३ वर्षीय श्रीमान तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । शनिबार बिहान १० बजेको समयमा तामाङ घरदेखि ५०० मिटर बाटोमा लडेर मृत अवस्थामा फेला परेका थिए ।

यस्तै, चितवनको भरतपुर महानगरपालिका–१० स्थित चितवन मेडिकल कलेजको पर्खाल भित्र रहेको सार्वजनिक शौचालयमा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा तनहुँ जिल्लाको आवुखैरेनी–१ का २८ वर्षीय विकास नेपाली रहेको प्रहरीले जानकारी दिएको छ । शनिबार बिहान ९ बजेर ३० मिनेटको समयमा मेडिकल कलेजको पर्खाल भित्र रहेको सार्वजनिक शौचालयमा नेपाली मृत फेला परेका थिए । प्रहरीले नेपालीको साथबाट लागुऔषध डाईजेपाम १ एम्पुल, फेनरागन १ एम्पुल, डियु नुर्फिन १ एम्पुल र सिरिन्ज १ थान फेला पारेको छ । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको छ ।

यस्तै, चितवन जिल्लाको भरतपुर महानगरपालिका–१, देवघाटमा एक जना पुरुषको मृत्यु भएको छ । शनिबार बिहान ११ बजेर ३० मिनेटको समयमा गोर्खाली धर्मशालामा बस्दै आएका अन्दाजी ५५ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जानकारी दिएको । परिचय खुल्न नसकेका पुरुष तीन महिनादेखि धर्मशालामा बस्दै आएका थिए । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल लगिएको छ ।

यस्तै, चितवन जिल्लाको खैरहनी नगरपालिका–२, चैनपुरटोलमा एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२६, दिव्यनगर घर भई हाल चैनपुरटोल बस्ने ४० वर्षीय गोकुल अधिकारी रहेको प्रहरीले जानकारी दिएको छ । शनिबार अधिकारी आफ्नै आँगनमा मृत अवस्थामा फेला परेका थिए । अनुसन्धानका क्रममा अधिकारीले अत्याधिक मादक पदार्थ सेवन गर्ने गरेको पाइएको छ । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।