हेटौंडाः मकवानपुर जिल्लामा सार्वजनिक यातायातका साधनहरु छिटपुट रुपमा संचालनमा आएको छ । हेटौंडा हुँदै मनहरी, हटिया, कमाने चल्ने साझा बस र केही म्याजिकहरु संचालनमा आएको छ । सरकारले सार्वजनिक सवारीमा सिट क्षमता भन्दा आधा संख्यामा मात्र यात्रु राखेर सञ्चालन गर्न भने पनि त्यसो हुन सकेको छैन । नारायणी यातायात संघ प्रालिका महासचिव सरोज खनालका अनुसार सहरी क्षेत्रमा आधा संख्यामा यात्रुहरु राखेर सवारी सञ्चालन गरे पनि ग्रामिण क्षेत्रमा समस्या हुने बताउनुभयो । ग्रामिण क्षेत्रमा थोरै मात्रामा सवारी साधन चल्दा स्थानीय नागरिकहरु अलपत्र पर्ने भन्दै अहिले बसमा सिट भन्दा यात्रु कम बोक्न समस्या भएको बताउनुभयो ।

मुख्यगरी ग्रामिण भेग राईगाउँ, गोगने लगायतका स्थानहरुमा यस्तो समस्या देखिने गरेको बताउनुभयो । स्थानीयस्तरका व्यक्तिहरु अलपत्र हुने समस्या सिर्जना भएको उहाँको भनाइ छ । ‘अहिले सरकारले पनि ५० प्रतिशत भाडा बढाएर लिन सकिने भने पनि मुख्य समस्या आधा यात्रु बोक्ने नै हो’, उहाँले भन्नुभयो । अहिलेको सार्वजनिक सवारी सञ्चालन गर्ने नीतिले गाउँमा सवारी चलाउन नसक्ने भन्दै नीति निर्माण गर्नेले यसतर्फ ध्यान पुर्‍याउन नसकेको बताउनुभयो । यस्तै राष्ट्रिय महासंघ अहिले सरकारसँग टेबुल गरेर बसेको बताउनुहुँदै सवारी चालक तथा सहचालकको कोरोना संक्रमण भएमा के गर्ने भनी सरकारले स्पष्ट नगरेको बताउनुभयो । उहाँका अनुसार अहिले बजारमा अटोको ज्यादतीका कारण नै म्याजिकहरु संचालन आउनुपरेको हो ।

यता जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले पनि जिल्लामा सार्वजनिक सवारीहरु चलेपनि सवारीसाधनमा पुरा मान्छे नै हालेर चलिरहेको जनाएको छ । ‘हामीले विभिन्न स्थानमा सुरक्षा जाँच गर्दा उनीहरुलाई रोकेर ओरालेका पनि छौं’, ट्राफिक प्रहरी प्रमुख हरिविष्णु ढकालले भन्नुभयो । उहाँका अनुसार अहिले बजारमा सार्वजनिक सवारीहरु चले पनि आधा संख्यामा मात्रै यात्रुहरु नबोकेको गुनासो छ । यस्तै भाडादर बढी लिएको अपुष्ट खबर पनि आएको ढकालले बताउनुभयो ।

ट्राफिक प्रहरी प्रमुख हरिविष्णु ढकालले सार्वजनिक यातायातमा भिडभाड गरेर यात्रु राख्न नपाउने बताउनुभएको छ । उहाँले सरकारको निर्देशन अनुसार खुकुलो गर्न या कडाई गर्ने सोही अनुसार हुने बताउनुभयो । अहिले जरिवाना नगरेपनि त्यस्ता सवारी चालकहरुलाई सम्झाबुझाई गरेर बढी यात्रुहरु ओरालिएको बताउनुभयो ।