उद्दार गरेका सहयोगापेक्षीको सरसफाई गरिँदै ।

हेटौँडाः मानवसेवा आश्रमको मेचि–महाकाली उद्दार अभियान टोली हेटौँडा आइपुगेको छ । सोमबार हेटौँडा आइपुगेको अभियान टोलीले मंगलबार बिहान अभियानबारे जानकारी गराउने उद्देश्यले सरोकारवालासँग परिचयात्मक कार्यक्रम समेत गरेको छ । अभियानमा आनी छोइङ डोल्मा पनि सहभागी हुनुहुन्छ ।

मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले असोज २७ गते आइतबारबाट सुरु गरिएको अभियानमा हालसम्म ८४ जनाको उद्दार गरिएको जानकारी दिनुभयो । उद्दार गरिएका मध्ये २० जना महिला र ६४ जना पुरुष छन् । मानवसेवा आश्रमको अभियानका बारेमा जानकारी गराउनुहुँदै उहाँले सबैको साथ र सहयोगका लागि अपिल पनि गर्नुभयो ।

हेटौँडा–९ स्थित आश्रमको मुख्यालयमा भएको कार्यक्रममा बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा, मुख्यमन्त्री बहादुर सिंह लामा, सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी, वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवाल, स्वास्थ्य मन्त्री किरण थापा, प्रमुख सचिव डा. हरिप्रसाद लम्साल, मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाल, बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कृष्ण हरि शर्माको उपस्थिति रहेको थियो । करिब एक महिना सञ्चालन हुने मेचि–महाकाली उद्दार अभियान टोलीले आज मकवानपुर जिल्लामा सहयोगापेक्षी सडक मानवको खोजी तथा उद्दार गर्नेछ ।