प्रादेशिक छनोट प्रतियोगिताको उद्घाटन समारोहपछि खेलाडीसँग परिचय गर्नुहुँदै सदस्य सचिव लामा र वडाध्यक्ष सिग्देल ।

हेटौंडाः बागमती प्रदेशको यु–१९ क्रिकेट टिम तयार पार्न हेटौंडामा पहिलो पटक छनोट प्रतियोगिता सुरु भएको छ । हेटौंडा–४, हुप्रचौरमा बुधबारबाट सुरु भएको प्रतियोगिताको बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाले बलिङ गरेर ४ नम्बर वडाका वडा अध्यक्ष नवीन सिग्देलले व्याटिङ गरेर संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

छनोट प्रतियोगिताको उद्घाटन खेल मकवानपुर जिल्ला र नुवाकोट जिल्लाबीच हुँदैछ । नुवाकोटले टस जितेर पहिले व्याटिङ गर्दैछ । आउँदो कात्तिक १० गतेदेखि विराटनगरमा हुन लागेको वाईवाई यु–१९ राष्ट्रिय प्रतियोगितामा सहभागी हुने बागमती प्रदेशको टिम तयार सुरु भएको प्रतियोगिता कार्तिक ४ गतेसम्म हुनेछ । दुई टिमबीचको खेल ४० ओभरमा खेलाइने भनिए तापनि समय अभावका कारण ३० ओभरको खेलाइने छ ।

बुधबार नै हेटौँडा र काठमाडौँ दुबैतर्फ एकसाथ सुरु भएको प्रतियोगितामा मकवानपुरसहित काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट र चितवन गरी ६ जिल्लाको सहभागिता रहेको छ । मकवानपुर जिल्ला क्रिकेट संघका कोषाध्यक्ष धिरज श्रेष्ठको संयोजकत्वमा हेटौँडामा छनोट खेल भइरहेको छ । प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सदस्य सचिव दीपक लामाले क्रिकेट प्रतियोगिता सञ्चालनको क्रममा खेलाडीहरुका लागि सुविधायुक्त मैदानका लागि प्रदेश मार्फत पहल गर्ने बताउनुभयो ।

मकवानपुर जिल्ला क्रिकेट संघका कार्यवाहक अध्यक्ष ईश्वर प्रसाद मैनालीले क्रिकेट धेरै प्रतियोगिता हेटौंडा–४ स्थित हुप्रचौरमा हुने भएकोले यसको विकासका लागि पहल गर्न वडाध्यक्ष नवीन सिग्देलसँग आग्रह गर्नुभयो । राम्रो खेलाडी बन्नका लागि सबैले मर्यादित र अनुशासित भएर खेल खेल्नुपर्ने उहाँको भनाई छ । उद्घाटन कार्यक्रममा मकवानपुर जिल्ला क्रिकेट संघका पूर्वअध्यक्ष वासुलाल श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख माधव कोइराला, नेपाल बुद्धिचाल महासंघका महासचिव धरम बहादुर लामा, प्रदेश क्रिकेट संघका सदस्य संजोक पोखरेल लगायतको उपस्थिति रहेको थियो ।