हेटौँडाः राष्ट्रिय पोषण कार्यक्रमअन्तर्गत आगामी कात्तिक २ र ३ गते मकवानपुर जिल्लाका ३२ हजार २ सय ४२ जना बालबालिकालाई भिटामिन ए क्याप्सुल र २९ हजार १ सय २२ जना बालबालिकालाई जुकाको औषधी खुवाइँदैछ । ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने जनस्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिनुभएको छ ।
मकवानपुर जिल्लाका १० वटा पालिकामध्ये सबैभन्दा बढी हेटौँडा उपमहानगरपालिकामा १२ हजार ६ सय ६३ जना बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाइँदैछ भने ११ हजार ४ सय ५३ जना बालबालिकालाई जुकाको औषधि खुवाइँदैछ । सबैभन्दा कम ईन्द्रसरोवर गाउँपालिकाका ७ सय ८८ बालबालिकालाई भिटामिन ए क्याप्सुल र ७ सय ११ बालबालिकालाई जुकाको औषधि खुवाइँदैछ ।
भिटामिन ए र जुकाको औषधि खुवाउन जिल्लाभर ४ सय ७१ जना महिला स्वास्थ्य स्वयम्सेविका परिचालन गरिएको छ । भिटामिन ए क्याप्सुल र जुकाको औषधि सबै पालिकामा पठाइसकिएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।