हेटौंडा उपमहानगरपालिका ।

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाको नगर सभा भोलि बुधबार दिउँसो २ बजे बस्ने भएको छ । मंगलबार बसेको कार्यपालिका बैठकले भोलि बुधबार २ बजे विशेष नगर सभा बैठक बस्ने निर्णय गरेको छ । कार्यपालिका बैठकले हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको संयोजकत्वका गठन भएको कार्यदलले तयार पारेको प्रतिवेदन नगर सभा समक्ष प्रस्तुत गर्ने निर्णय भएको एकजना कार्यपालिका सदस्यले जानकारी दिनुभयो ।

“विशेष नगरसभा भोलि बुधबार दिउँसो २ बजे उपमहानगरपालिकाको निर्माणाधिन सभाहलमै आयोजना गर्ने निर्णय भएको छ”, कार्यपालिका सदस्यले भन्नुभयो, “उपप्रमुख राजेश बानियाँ नेतृत्वको कार्यदलले तयार पारेको प्रतिवेदन नगर सभा समक्ष प्रस्तुत गर्ने निर्णय पनि भएको छ ।” नगरप्रमुख मीना कुमारी लामाको अध्यक्षतामा असोज १३ गते आइतबार बसेको कार्यपालिका बैठकले राजश्वको दर परिवर्तन गर्ने विषयमा अध्ययन गर्न उपप्रमुख राजेश बानियाँको संयोजकत्वमा कार्यदल गठन गरेको छ । कार्यदलमा वडा अध्यक्षहरु सविन न्यौपाने, विष्णुगोपाल महर्जन, नवीन सिग्देल र फूर्वा दोर्जे लामा सदस्य हुनुहुन्छ । यस्तै व्यवसायीको तर्फबाट मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवाल, उपाध्यक्ष उज्ज्वल चौलागाई रहनुभएको छ । कार्यदलमा हेटौँडा उपमहानगरपालिकाको राजश्व, कानुन र प्रशासन शाखाका प्रमुखहरु पनि सदस्य छन् ।

हेटौँडा उपमहानगरपालिकाको गत असार ७ गते सम्पन्न नगर सभाले अस्वभाविक र अवैधानिक रुपमा राजश्वको दर परिवर्तन गरेपछि नगरवासी र व्यवसायीले विरोध गरेसँगै बहुमत नगर सभा सदस्यले विशेष नगरसभाको माग गरेको थियो । गत भदौ २८ गते बसेको विशेष नगरसभा राजश्वको दर साविकमै कायम गर्ने विषयमा अनिर्णित रहँदै असोज १५ गतेका लागि बैठक स्थगित गरेको थियो । असोज १५ गतेको विशेष नगरसभा असोज २२ गतेका लागि सारिएको थियो । असोज २२ गतेका लागि सारिएको विशेष नगरसभा पनि असोज ३० गतेका लागि सारिएको थियो ।