हेटौँडाः बागमती प्रदेशको यु–१९ क्रिकेट टिम तयार पार्न हेटौँडामा भोलि बुधबारदेखि छनोट खेल सुरु हुँदैछ । भोलिदेखि हेटौँडा र काठमाडौं दुबैतर्फ एकसाथ सुरु हुने छनोट खेलमा मकवानपुरसहित काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट र चितवन गरी ६ जिल्लाको सहभागिता रहेको छ ।
कात्तिक १० गतेदेखि विराटनगरमा हुने वाई वाई यु–१९ राष्ट्रिय प्रतियोगितामा सहभागी हुन बागमती प्रदेशको टिम तयार पार्न भोलिदेखि सुरु हुने छनोट खेल कात्तिक ४ गतेसम्म हुनेछ । छनोट खेलमा सहभागी हुन नुवाकोटको टोली मंगलबार दिउँसो हेटौँडा आइपुगेको छ । भोलिको पहिलो खेल नुवाकोट र मकवानपुरबीच हुनेछ । खेल ४० ओभरमा खेलाइनेछ ।
मकवानपुर जिल्ला क्रिकेट संघका सचिव विनोद कुमार बानियाँका अनुसार काठमाडौं र हेटौँडामा एकसाथ छनोट खेल हुनेछ । प्रादेशिक टिम तयार पार्न पहिलो पटक हेटौँडामा प्रतियोगिता हुन लागेको सचिव बानियाँले बताउनुभयो । हेटौँडाको हुप्रचौरमा हुने छनोट खेलमा मकवानपुरसहित चितवन, नुवाकोट र ललितपुरबीचको पहिलो चरणको खेल हुनेछ । दोश्रो चरणको खेल काठमाडौंको मूलपानीस्थित तल्लो मैदानमा हुनेछ । हेटौँडामा छनोट खेलको संयोजकको जिम्मेवारी धिरज श्रेष्ठलाई दिइएको छ ।
छनोट खेलमा सहभागी हुन गोकुल अधिकारीको कप्तानीमा मकवानपुरको १४ सदस्यीय टिम घोषणा गरिएको छ । मकवानपुर जिल्ला क्रिकेट संघले उपकप्तानमा एमडी अहमद राजालाई चयन गरेको छ । मकवानपुरको विकेट किपरमा साहेव यादव रहेका छन् । यसअघि यु–१६ क्रिकेट टिमका खेलाडी समावेश गरिएको मकवानपुरको टिममा गौरव श्रेष्ठ, कृष्णकुमार यादव, रोहित ठाकुर, प्राञ्जल उपाध्याय, शिवशक्ति महतो, आशिक अधिकारी, आदित्य पटेल, सिर्जन अधिकारी, रौशन कुमार राय, अरविन प्रसाद यादव र कुशल दुलाल समावेश छन् । मकवानपुरको प्रशिक्षकमा पूर्वराष्ट्रिय खेलाडी राम नरेश गिरी रहनुभएको छ ।