रक्तदान गर्दै रक्तदाता । फाइल तस्वीर ।

हेटौँडाः पछिल्लो समय रक्तदान कार्यक्रमहरु आयोजना नहुँदा मकवानपुरमा रगतको अभाव देखिन थालेको छ । रक्तसञ्चार केन्द्र हेटौंडाका प्राविधिक किशोर सापकोटाले अहिले रक्तसञ्चार केन्द्रमा रगत संकलन कम रहेको र अभाव हुँदै गइरहेको बताउनुभयो ।

प्राविधिक सापकोटाका अनुसार मंगलबारसम्ममा केन्द्रमा २५ युनिट मात्र रगत स्टक रहेको छ । कुनै ठुलो दुर्घटना र बिरामीको संख्या बढी भएमा यति रगतले माग नधान्ने उहाँको भनाई छ । डेङ्गु र प्राकृतिक विपद्का कारण माग बढेको तर रक्तदान कार्यक्रम हुन नसक्दा रगत अभाव हुन थालेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार यसअघिका चाडपर्वका समयमा रक्तदानका कार्यक्रमहरु धेरै हुने गरेकोमा यस पटक भने भएको छैन । अब चाडपर्व सकेर सरकारी कार्यालय र विभिन्न संघ संस्था खुलेसँगै विस्तारै रक्तदान कार्यक्रम हुने उहाँको विश्वास छ । उहाँका अनुसार बुधबार ६९ औं प्रहरी दिवस–२०८१ को अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले रक्तदान कार्यक्रम आयोजना गर्दैछन् ।