हेटौँडाः दसैं विदापछि सेवा सुचारु भएको पहिलो दिन मंगलबार हेटौँडा अस्पतालको बहिरंग (ओपिडी) सेवामा ६ सय ९ जनाले सेवा लिएका छन् । मंगलबार दिउँसो साढे ३ बजेसम्म आकस्मिक सेवा लिनेको संख्या २ सय ३३ पुगेको छ ।
मंगलबार जनरल मेडिसिनतर्फ १ सय ६२ जना, हाडजोर्नीतर्फ १ सय ९ जना र बालबालिकातर्फ ५९ जनाले सेवा लिएका छन् । हेटौँडा अस्पतालका मेडिकल रेकर्डर सुपरभाइजर सफलचन्द्र कँडेलका अनुसार दसैं सकिएलगत्तै सेवाग्राहीको उपस्थिति केही कम देखिएको छ । असोज महिनामा हेटौँडा अस्पतालमा २७ हजार २ सय ६७ जनाले सेवा लिएका छन् । जसमध्ये आकस्मिकतर्फ ९ हजार ५ सय ४६ जनाले सेवा लिएका छन् भने १७ हजार ७ सय २१ जनाले बहिरंग सेवा लिएका छन् ।
असोज २० गते एकैदिन १ हजार ३ सय ४८ जनाले सेवा लिएका थिए । असोज २० गते आकस्मिक सेवातर्फ ३ सय ६० जना, जनरल मेडिसिनतर्फ ४ सय ३७ जना र बालबालिकातर्फ १ सय ७ जनाले सेवा लिएका थिए । हेटौँडा अस्पतालमा सेवाग्राहीको चापअनुसार सेवा प्रवाहलाई व्यवस्थित बनाउन भने अस्पताल प्रशासन असफल हुँदै आएको छ । जसका कारण उल्लेख्य संख्यामा सेवाग्राहीलाई सेवा प्रवाह गरिरहँदा पनि हेटौँडा अस्पतालको सेवाप्रवाहप्रति आलोचना भइरहेको छ ।