उद्दार गरिएका व्यक्तिको सरसफाईमा खटिनुभएकी आनी छोइङ डोल्मा ।

हेटौँडाः मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेशनको संयुक्त प्रयासमा मेचि–महाकाली राष्ट्रिय उद्दार अभियान सुरु भएको छ । आइतबारबाट सुरु भएको अभियान अन्तर्गत पहिलो दिन १० जनाको उद्दार गरिएको छ । सोमबार झापाको काकडभिट्टा नगरपालिकाबाट १ जना, विर्तामोड नगरपालिकाबाट ५ जना, कन्काई नगरपालिकाबाट २ जना र शिवशतासी नगरपालिकाबाट २ गरी १० जनाको उद्दार गरिएको मानवसेवा आश्रमले जनाएको छ ।

मानवसेवा आश्रमका अभियन्ता होमनाथ पौडेलका अनुसार उद्दार गरिएका मध्ये १ महिला र ९ जना पुरुष रहेका छन् । उद्दार गरिएकाहरुलाई नजिकैको मानवसेवा आश्रमको प्रादेशिक तथा जिल्ला शाखाहरुमा राखिएको उहाँले बताउनुभयो । झापाको मेचि पुलबाट आइतबारबाट सुरु गरेको यात्राको टोली मंगलबार विराटनगरपुगेका छन् । सडकपेटी र सार्वजनिक स्थलमा कष्टपूर्ण जीवन बिताइरहेका सडक आश्रित सहयोगापेक्षीहरूको उद्दारका लागि मानवसेवा आश्रमले हरेक वर्ष मेचि–महाकाली राष्ट्रिय उद्दार यात्रा गर्दै आएको छ ।

यस वर्षको उद्दार अभियान करिब एक महिनासम्म चल्नेछ । मानवसेवा आश्रमले आउँदो वर्ष अर्थात् २०८२ साल भित्र नेपाललाई सडकपेटी र सार्वजनिकस्थलहरुमा कष्टपूर्ण जीवनयापन गर्नुपर्ने मानवरहित देश निर्माण गर्ने सङकल्प गरेको छ । उद्दार कार्यमा मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी र आनी छोइङ डोल्मा फाउण्डेशनकी अध्यक्ष आनी छोइङ डोल्मासहित ४७ सदस्यीय टोली खटिएका छन् । मानव सेवा आश्रमले पहिलो वर्ष मेचि–महाकाली अभियानमा ७ सय ५८ जना र गत वर्ष ३ सय ४ जनालाई उद्दार गरेको थियो ।