शिक्षा विकास तथा समन्वय इकाई प्रमुख अनुपस्थित हुनुभएपछि खाली कुर्सी ।

हेटौँडाः दसैं विदापछि कार्यालय खुलेको पहिलो दिन शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख, जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख र मालपोत कार्यालय हेटौँडाका प्रमुख कार्यालयमा अनुपस्थित रहनुभएको छ । स्थानीय प्रशासनले कार्यालय खुलेको पहिलो दिन नै जनगुनासो नरहने गरी सेवा प्रवाह गर्न आग्रह गरिरहँदा कार्यालय प्रमुख नै अनुपस्थित हुनु अस्वभाविक देखिन्छ ।

कार्यालय प्रमुखको अनुपस्थितिले सम्बन्धित कार्यालयको सेवा प्रवाहमा कुनै असर नपरे पनि कार्यालय प्रमुख नै अनुपस्थित रहनुले भने कार्यालयको कार्यवातावरणमा भने नकारात्मक असर पर्ने देखिन्छ । कार्यालय प्रमुखको अनुपस्थितिले मातहतका कर्मचारीको कार्यसम्पादनमा समेत असर पर्ने अवस्था रहन्छ । कार्यालय प्रमुख अनुपस्थित रहेको कार्यालयका एक अधिकृतले भने, “कार्यालय प्रमुख नै नहुनुले पनि सेवाप्रवाहमा त समस्या हुने अवस्था छैन । तर, तपाइँहरुको चासो रतर्कअनुसार कार्यालय प्रमुख नै नहुँदा मातहतका कर्मचारीबाट हुन सक्ने बेवास्ता र कार्यालयको समग्र सेवा प्रवाहमा समस्या भने हुन सक्छ ।”

जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख अनुपस्थित हुनुभएपछि खाली कुर्सी ।

शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख सुदीप गिरीले कार्यालयका मातहतका कर्मचारीलाई पूर्णिमापछि मात्रै हाजिर हुने जानकारी गराएर दसैं विदामा जानुभएको बुझिएको छ । प्रमुख गिरीसँग मोवाइलमा कुराकानी गर्दा पर्वकै कारण पूर्णिमा सकाएर मात्रै कार्यालय हाजिर हुने योजना रहेको बताउनुभयो । “कार्यालय खुलेको छ । साथीहरु हुनुहुन्छ । म पूर्णिमापछि आउँछु । आइतबारदेखि हाजिर हुन्छु”, गिरीले भन्नुभयो ।

यता मालपोत कार्यालयका प्रमुख भने रघुवंश कँडेल भने हालै रौतहट जिल्लास्थित मालपोत कार्यालयबाट सरुवा भएर आउनुभएको हो । उहाँ असोज २३ गते पहिलो पटक कार्यालय हाजिर भएर दसैं विदामा जानुभएको हो । उहाँले पनि मातहतका कर्मचारीलाई नै जिम्मेवारी दिएर जानु भएको हो । केही दिनमा आउने जानकारी गराउनुभएको मालपोत कार्यालयका अधिकारीले बताएका छन् ।

मालपोत कार्यालय हेटौँडाका प्रमुख अनुपस्थित हुनुभएपछि खाली कुर्सी ।

जनस्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य प्रशासक कृष्णबहादुर मिजार पनि कार्यालय खुलेको पहिलो दिन कार्यालयमा अनुपस्थित रहनुभयो । दसैं विदामा भक्तपुरस्थित घर जानुभएका परियारको कात्तिक २ गते आमाको श्राद्ध भएकोले पीतृकर्म सकाएर कार्यालय हाजिर हुने जानकारी दिनुभयो । दसैं बिदाको २ दिनअघि जिल्लाको उत्तरी क्षेत्रका स्वास्थ्य इकाईको अनुगमन गर्दै भक्तपुर पुग्नुभएका मिजार दसैंपछि पनि कार्यालय खुलेको ५ दिनपछि मात्रै कार्यालय हाजिर हुनुहुनेछ । बाटोको समस्याका कारण घरबाट कार्यालय पुगेर फर्कन जोखिम भएकोले पीतृकर्म भ्याएर कार्यालय हाजिर हुने उहाँको भनाइ छ ।