हेटौँडाः हेटौँडा उपमहानगरपालिकाको कार्यपालिका बैठक आज बस्दैछ । भोलि बुधबार हुने विशेष नगरसभाको विषयमा आवश्यक निर्णय गर्ने गरी कार्यपालिका बैठक बस्न लागेको एक कार्यपालिका सदस्यले जानकारी दिएका छन् ।
हेटौँडा उपमहानगरपालिकाको गत असार ७ गते सम्पन्न नगर सभाले अस्वभाविक र अवैधानिक रुपमा राजश्वको दर परिवर्तन गरेपछि नगरवासी र व्यवसायीले विरोध गरेसँगै बहुमत नगर सभा सदस्यले विशेष नगरसभाको माग गरेको थियो । गत भदौ २८ गते बसेको विशेष नगरसभा राजश्वको दर साविकमै कायम गर्ने विषयमा अनिर्णित रहँदै असोज १५ गतेका लागि बैठक स्थगित गरेको थियो । असोज १५ गतेको विशेष नगरसभा असोज २२ गतेका लागि सारिएको थियो । असोज २२ गतेका लागि सारिएको विशेष नगरसभा पनि असोज ३० गतेका लागि सारिएको थियो ।