जिल्ला प्रशासन कार्यालय मकवानपुर ।

हेटौँडाः दसैं विदापछि कार्यालय खुलेसँगै जिल्ला प्रशासन कार्यालय मकवानपुरले सेवाप्रदायक सरकारी कार्यालयहरुलाई जनताको गुनासारहित सेवाप्रवाह गर्न अनुरोध गरेको छ । आज मंगलबारदेखि कार्यालय सुचारु भएलगत्तै प्रशासन कार्यालयले एक सूचना जारी गर्दै सेवाप्रवाहमा जनगुनासो नहोस भनी सचेत गराएको हो ।

“दसैं विदापछि सरकारी कार्यालयहरु खुला भई पूर्ववत् नियमित सेवा प्रवाहको कार्य भइरहेको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ”, जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत गुणराज प्रसाद न्यौपानेले जारी गर्नुभएको सूचनामा भनिएको छ, “जिल्लास्थित सबै सेवा प्रदायक सरकारी कार्यालयहरुले जनगुनासोरहित तवरले सेवा प्रवाहको प्रबन्ध मिलाउनु हुन समेत यसै सूचनामार्फत अनुरोध गरिन्छ ।”

कार्यालय सुचारु रहने नियमित कार्यतालिका नै भए पनि सेवाप्रदायकलाई जिम्मेवार बनाउन र सेवाग्राहीलाई सेवा लिन जान अझ विश्वस्त बनाउनका लागि सूचना प्रकाशित गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका अधिकारीको भनाइ छ । चाडपर्व बिदा लगत्तै कार्यालयमा कर्मचारी उपस्थित नहुने, सेवा प्राप्त नहुने भन्ने नहोस् भनी सेवाग्राहीलाई सूचित र सेवाप्रदायकलाई सचेत दुबै गराइएको प्रशासन कार्यालयको आशय छ । दसैं विदापछि कार्यालय सुचारु भएसँगै बजार क्षेत्र र कार्यालयहरुमा चहलपहल बढेको छ ।

जिल्ला प्रशासन कार्यालयले मंगलबार जारी गरेको सूचना ।