जिल्ला प्रशासन कार्यालय मकवानपुर ।

हेटौँडाः दसैं बिदापछि आज मंगलबारबाट सरकारी कार्यालयहरु सुचारु हुँदैछ । असोज २४ गते फुलपातीदेखि बन्द भएको सरकारी कार्यालयहरु ५ दिन लामो दसैं बिदा सकिएर आज असोज २९ गते मंगलबारबाट सुचारु हुन लागेको हो ।

सरकारी कार्यालयहरु आजदेखि सुचारु हुने, कर्मचारी पूर्ववत् रुपमा उपस्थिति भएर कार्यालयको सेवा प्रवाह गर्ने मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिनुभएको छ । उहाँले सेवाग्राहीलाई पनि सेवा लिन कार्यालय पुग्न आग्रह गर्नुभएको छ । सूचना विभागले सार्वजनिक गरेको वार्षिक क्यालेण्डरअनुसार नै कर्मचारीले सेवाप्रवाहलाई नियमित र व्यवस्थित गर्ने उहाँको भनाइ छ ।

प्रशासन कार्यालयको तर्फबाट जिल्लास्थित सरकारी कार्यालयहरुलाई सेवाप्रवाह सुचारु गर्न सूचित समेत गरिने उल्लेख गर्नुहुँदै सेवाप्रवाह प्रभावकारी भए नभएको विषयमा स्थानीय प्रशासनले नियमित कार्यालयको अनुगमन गर्ने गरेको प्रमुख जिल्ला अधिकारी चिलुवालको भनाइ छ । यता सेवाग्राही भने सेवाप्रदायक कार्यालयहरुमा चाडपर्व विदालगत्तै कार्यालय खुलेको दिन कर्मचारी उपस्थित नहुने भन्दै सेवा लिन जान हिच्किचाउने प्रवृत्ति छ ।